उम्मेदवारी दिनमा ढिलाई र अन्तरघातका कारण निर्वाचनमा काँग्रेसले हार व्यहोर्नुपरेको प्रधानमन्त्री देउवाको विश्लेषण

arjun MainNews/प्रमुख समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाण्डौ,५ साउन । नेपाली काँग्रेसले प्रदेश नम्बर दुईको स्थानीय तह निर्वाचनमा पहिलो शक्ति बन्नेगरी आवश्यक तयारी सुरु गरेको छ ।नेपाली काँग्रेसले विहिबार काठमाडौंमा प्रदेश नम्बर २ को प्रादेशिक भेला आयोजना गरी असोज २ गते हुने स्थानीय तह निर्वाचनका लागि आवश्यक तयारीको काम अघि बढाएको हो । भेलामा बोल्दै प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवाले प्रदेश नम्बर २ मा काँग्रेसले चुनाव जित्नैपर्ने बताए ।
उनले चुनावमा अन्तरघात गर्नेहरुलाई पार्टीबाटै निस्काशन गर्ने चेतावनी पनि दिए। प्रधानमन्त्री देउवाले स्थानीय तह पहिलो र दोस्रो चरणको निर्वाचनमा अन्तरगत भएकै कारण काँग्रेसले हार व्यहोर्नु परेको उल्लेख गर्दै तेस्रो चरणको निर्वाचनमा पनि अन्तरघात भए उनीहरु पार्टीबाटै निष्काशित हुने स्पष्ट पारे । उम्मेदवारी दिन ढिलाई भएको र अन्तरघात भएका कारण स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा काँग्रेसले हार व्यहोर्नुपरेको प्रधानमन्त्री देउवाको विश्लेषण छ । उनले पार्टीलाई निर्वाचनमा हुने हारबाट जोगाउन पनि अन्तरघात गर्नेहरुलाई पार्टीबाट निष्काशन गर्नुको विकल्प नरहेको पनि स्पष्ट पारे ।प्रधानमन्त्री देउवाले प्रजातन्त्र, गणतन्त्र र संघीयताको भविष्यका लागि पनि काँग्रेसले चुनाव जित्नैपर्ने दावी पनि गरे । उनले समावेशीय सिद्धान्तको प्रतिपादक समेत काँग्रेस भएको उल्लेख गर्दै मुलुकको भविष्य काँग्रेसकै हातमा रहेको पनि दोहो¥याए।

कार्यक्रममा बोल्दै काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले मधेशका जनता काँग्रेसको पक्षमा रहेको दावी गरे । उनले काँग्रेस, मधेश र लोकतन्त्र एक अर्काका परिपुरक भएको दावी गर्दै मधेशका जनताको हितका लागि पनि प्रदेश नम्बर २ को चुनाव आफनो पार्टीले जित्नुपर्ने पनि स्पष्ट पारे ।

काँग्रेस महामन्त्री डा. शशांक कोइरालाले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा पार्टीलाई पहिलो शक्ति बनाउने आधार भएको स्पष्ट पारे। उनले प्रदेश नम्बर दुईको स्थानीय तहको निर्वाचन पार्टीको प्रतिष्ठासँगै जोडिएको पनि स्मरण गराए । महामन्त्री कोइरालाले निर्वाचनमा पार्टीलाई पहिलो शक्ति बनाउन सबै पक्ष लाग्नुपर्नेमा जोड दिए ।भेलामा प्रदेश नम्बर दुईका पार्टीका केन्द्रियहरु, सांसदहरु, जिल्ला सभापतिहरुसहितको सहभागिता रहेको छ ।

congress