प्रदेश र सङ्घको निर्वाचन मिति छिट्टै घोषणा हुन्छ : प्रम देउवा

arjun Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाडौँ, ६ साउन । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनका लागि तीनै तहका निर्वाचन अपरिहार्य रहेको बताउँदै प्रदेश र सङ्घको निर्वाचन मिति छिट्टै घोषणा हुने बताएका छन्  । बिपी कोइरालाको ३५औँ स्मृति दिवसका अवसरमा प्रजातान्त्रिक विचार समाजले आज आयोजना गरेको कार्यक्रममा उनले संविधानले निर्धारण गरेको समय सीमाभित्रै सबै निर्वाचन सम्पन्न गर्नुपर्ने आवश्यकता आँैल्याए  । स्थानीय तहका दुई चरणका निर्वाचन सम्पन्न भइसकेको र तेस्रो चरणको निर्वाचन आगामी असोज २ गते तोकिएको जानकारी गराउँदै प्रधानमन्त्री देउवाले भने  – “प्रदेश र सङ्घको निर्वाचनको तयारीका लागि निर्वाचन क्षेत्र निर्धारण आयोग हिजोमात्र गठन भइसकेको छ ।” निर्धारित समयमा तीनै तहका निर्वाचन सम्पन्न भएमा मात्र संघीय लोकतान्त्रिक गणतन्त्रको स्थायित्व हुने देउवाको धारणा थियो । प्रधानमन्त्री देउवाले काँग्रेस मुलुकको सबैभन्दा ठूलो र पुरानो लोकतान्त्रिक पार्टी भएकाले लोकतन्त्रमा रुपान्तरित हुन बाँकी अन्य पार्टीलाई पनि रुपान्तरित गर्नु काँगे्रसको जिम्मेवारी रहेको विचार व्यक्त गरे  ।

सो अवसरमा प्रधानमन्त्री देउवाले लामो समयदेखि अशक्त बिरामी भई हाल अस्पताल भर्ना हुनुभएका काँग्रेस नेता चक्रप्रसाद बास्तोलालाई लोकतान्त्रिक योद्धा सम्मानबाट सम्मानित गरे  । रु २५ हजारसहितको उक्त सम्मान नेता बास्तोलाकी धर्मपत्नी कुसुम बास्तोलले ग्रहण गरेका  थिए