माओवादी केन्द्र प्रत्यक्ष निर्वा्चित कार्यकारी प्रमुखको पक्षमा , दुई नम्बर प्रदेशको भेला साउन १० गते गर्ने

arjun Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाण्डौ,७ साउन । माओवादी केन्द्रले प्रत्यक्ष निर्वा्चित कार्यकारी रहने व्यवस्थाका लागि पहल सुरु गर्ने निर्णय गरेको छ । राजधानीको कोटेश्वरस्थित पार्टी कार्यालयमा ६ दिन बसेको सचिवालयको विस्तारित बैठकले स्थायित्व र दिगो विकासका लागि प्रत्यक्ष कार्यकारी रहने व्यवस्थाका लागि लविङ गर्ने निर्णय गरेको हो । विगत लामो समयदेखिको अभ्यास हेर्दा प्रत्यक्ष कार्यकारीको व्यवस्था नहुँदा विकास निर्माणका काममा असर परेको निष्कर्ष सहित अब प्रत्यक्ष कार्यकारीको लागि लविङ सुरु गर्ने निर्णय गरेको सो पार्टीकि प्रवक्ता पम्फा भुसालले जानकारी दिईन ।

संविधान मस्यौदाका क्रममा प्रमुख कार्यकारी को रहने भन्ने विषयमा दलहरुबीच लामो रस्साकस्सी चलेको थियो । अन्तत दलहरु प्रधानमन्त्री नै कार्यकारी रहने व्यवस्था संविधानमा लिपिवद्ध गर्न सहमत भएका थिए । नयाँ संविधानमा पनि प्रधानमन्त्री प्रमुख कार्यकारी हुने व्यवस्था छ । यस्तै माओवादी केन्द्रले अब हुने प्रदेश र केन्द्रको निर्वाचनलाई लक्षित गरी तीन वटा समिति बनाएको छ । नारायणकाजी श्रेष्ठको संयोजकत्वमा प्रतिवद्धता पत्र तयार समिति, रामबहादुर थापाको संयोजकत्वमा उम्मेदवार सिफारिस समिति र टोपबहादुर रायमाझीको संयोजकत्वमा निर्वाचन सम्वन्धी प्राविधिक व्यवस्थापन समिति गठन गरिएको छ ।
यस्तै बैठकले स्थानीय तहको निर्वाचनमा पार्टीको नीति र सिद्धान्त विपरित गएर चुनावमा अन्तरघात गर्ने जुनसुकै तहका नेता तथा कार्यकर्तालाई कडा कारबाही गर्ने पनि निर्णय गरेको छ ।

दुई नम्बर प्रदेशको भेला साउन १० गते

स्थानीय तहको निर्वाचन हुन बाँकी रहेको प्रदेश नं २ को निर्वाचन परिचालनलाई व्यवस्थित बनाउन माओवादी केन्द्रले यही साउन १० गते भेला आयोजना गर्ने निर्णय गरेको छ ।कुल १२७ स्थानका लागि हुने सो प्रदेशमा कम्तीमा पनि ५० भन्दा बढी स्थानमा विजयी हुनै पर्ने निष्कर्षमा साथ भेला आयोजना गर्न लागिएको माओवादीले जनाएको छ । भेलामा प्रदेश नं २ का जिल्ला तहसम्मका नेता तथा कार्यकर्ता सहभागी हुनेछन् ।

भेलाले निर्वाचन परिचालन, उम्मेदवारी चयन तथा पार्टीको आन्तरिक तथा बाह्य तयारीका सन्दर्भमा निर्णय गर्नेछ । त्यसबाहेक राम्रो जित भएका जिल्लामा त्यहाँका मतदातालाई सङ्गठनमा ढाल्न नीति बनाएर लागू गर्ने माओवादी केन्द्रले बताएको छ । भेलाको स्थान भने प्रदेश समितिले तय गर्नेछ ।

निर्वाचित जनप्रतिनिधिलाई प्रशिक्षण

स्थानीय तहमा माओवादी केन्द्रका तर्फबाट विजयी भएकालाई जनताको पक्षमा कसरी काम गर्ने भन्ने प्रशिक्षण दिन भेला आयोजना गरिएको प्रवक्ता पम्फा भुसालले जानकारी दिए ।स्थानीय तहको निर्वाचनमा पार्टीको तर्फबाट विजयी भएकालाई अन्य पार्टीको भन्दा फरक कार्यशैलीका साथ काम गर्नसक्ने बनाउने तथा माओवादी केन्द्रको योजना, कार्यक्रम, नीति कस्तो हो भन्ने बुझाउनका लागि भेला जरुरी रहेको बैठकमा कुरा उठेपछि भेला आयोजना गरिएको सो पार्टीले जनाएको छ । त्यस्तो भेला यही साउन २० देखि २२ गतेसम्म पार्टीका तर्फबाट आयोजना गरिनेछ । भेलाको स्थान भने पछि तय गरिनेछ ।