उन्नाइस कम्पनीको १३ अर्ब बढीको हकप्रद शेयर आउँदै

arjun Business/अर्थ ब्यापार , ७ वर्ष अगाडि

काठमाडौँ, ७ साउन । विभिन्न १९ कम्पनीले हकप्रद शेयर निष्कासनका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दिएका छन् ।
बोर्डकाअनुसार ती सबै कम्पनीले तोकिएको समयमा नै हकप्रद शेयर जारी गर्न सके पूँजीबजारमा रु १३ करोड ५७ लाख ५१ हजार १०१ कित्ता शेयर प्रवेश गर्नेछ ।

ती शेयरको मूल्य रु १३ अर्ब ५७ करोड ५१ लाख १० हजार ११८ बराबरको हुनेछ । त्यसरी हकप्रद शेयर निष्कासनका लागि आवेदन दिनेमा नौवटा विकास बैंक रहेका छन् । यस्तै प्रभु बैंकले १० बराबर चारका दरले रु दुई अर्ब ३५ करोड २५ लाख ६० हजार ८०० बराबरको हकप्रद शेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएको छ । यस्तै अपि पावर कम्पनीले २१ करोड कित्ता हकप्रद शेयर जारी गर्ने लक्ष्यका साथ बोर्डमा निवेदन दिएको छ ।

बोर्डमा निवेदन दिनेमा चारवटा फाइनान्स कम्पनी रहेका छन् भने एक बीमा कम्पनी रहेको छ । ‘क’ वर्गकै बैंक सिभिलले पनि १० बराबर चारका दरले रु दुई अर्ब सात करोड ४० लाख ८८ हजार ६७५ बराबरको हकप्रद शेयर जारी गर्न आवेदन दिएको छ ।
यस्तै बोर्डका अनुसार बैंक तथा वित्तीय क्षेत्र र जलविद्युत् गरी १८ कम्पनीले साधारण शेयर र थप शेयर निष्कासनका लागि बोर्डमा निवेदन दिएका छन् । शेयर निष्कासन गर्न लागेका १८ मध्ये ११ जलविद्युत् कम्पनी छन् । कुल १८ कम्पनीले रु पाँच करोड ६२ लाख तीन हजार ८५ कित्ता साधारण शेयर जारी गर्न बोर्डमा आवेदन दिइएको प्रवक्ता नीरज गिरीले जानकारी दिनुभयो । तीमध्ये रु तीन अर्ब २९ करोड १४ लाख २९ हजार बराबरको तीन करोड २९ लाख १४ हजार कित्ता साधारण शेयर र एक करोड ७० लाख कित्ता थप निष्कासन (एफपिओ) का लागि निवेदन परेको छ ।