महेन्द्रनगर (धनुषा), ७ साउन । देशको एकमात्र रेल सेवा ‘जनकपुर–जयनगर रेल्वे’ पुनः सञ्चालनमा आउने भएको छ । भारतको जयनगरदेखि जनकपुर हुँदै महोत्तरीको बिजुलपुरासम्मको रेलमार्गको पुनःनिर्माण कार्य अन्तिम चरणमा रहेकाले यही वर्षको फागुनदेखि सञ्चालनमा आउने बताइएको छ । ५१ किलोमिटर लामोे रेल लिकको पुनःनिर्माण अन्तिम चरणमा पुगेको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको रेल विभागले जनाएको छ ।
मर्मतसम्भार र उचित व्यवस्थापनको अभावमा जीर्ण बनेको जनकपुर–जयनगर रेलमार्ग तीन वर्षदेखि पूर्णरुपमा बन्द भएको थियो । बन्द भएसँगै भारत सरकारको पूर्ण सहयोगमा ब्रोडगेजमा रेल्वे निर्माण थालेको थियो । सन् २०१४ मा थालिएको पुनःनिर्माण सन् २०१८ को मार्चमा सम्पन्न हुने भारतीय कम्पनीले जनाएको छ । नयाँ निर्माण भइरहेको रेलको लिक पहिलेभन्दा ठूलो (ब्रोडगेज) रहेको छ । सानो आकारको रेलको लिकलाई विस्थापित गरेर ठूलो आकारको लिक निर्माणसँगै अरु काम पनि लगभग सकिन लागेको रेल विभागका वरिष्ठ इन्जिनियर प्रकाश उपाध्यायले जानकारी दिए ।