मन्त्रीपरिषद विस्तार गर्न ढिलाई गरेकोमा काँग्रेसबाटै प्रधानमन्त्री देउवाको चर्को आलोचना

arjun Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाण्डौ,९ साउन । सत्तारुढ नेपाली काँग्रेसले मन्त्रीपरिषद विस्तार गर्न ढिलाई गरेकोमा प्रधानमन्त्री एवम् पार्टी सभापति शेरबहादुर देउवाको चर्को आलोचना गरेको छ । पार्टी केन्द्रिय कार्यसमितिको बैठकमा अधिकांश नेताहरुले प्रधानमन्त्री देउवाको कार्यशैलीप्रति पनि असन्तुष्टि जनाएका छन । उनीहरुले मन्त्रीपरिषद विस्तार गरी सरकारको काम कार्वाहीलाई प्रभावकारुी गराउन पनि सरकारको ध्यानाकर्षण गराएका छन । मन्त्रीपरिषदलाई छिटो पूर्णता दिई सरकारको काम कार्वाहीलाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको ध्यानकर्षण गरिएको पार्टीका केन्द्रिय सदस्य प्रदिप पौडेलले जानकारी दिए ।

बैठकमा प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन समयमै सम्पन्न गर्न पनि सरकारको ध्यानाकर्षण गरिएको छ । सबै तहको निर्वाचनमा पार्टीलाई कसरी सफल बनाउन सकिन्छ भन्ने विषयमा केन्द्रित भएर प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन पनि समयमै सक्न प्रधानमन्त्री देउवालाई सुझाव दिइएको पार्टीका केन्द्रिय सदस्य पौडेलले स्पष्ट पारे ।

बैठकले स्थानीय तह पहिलो र दोस्रो चरणको निर्वाचनमा पार्टी पहिलो शक्ति बन्न नसक्नुमा पार्टी नेतृत्वको कमजोरी रहेको निष्कर्ष निकालेको छ । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले त प्रदेश नम्बर २ को निर्वाचनको उम्मेदवारी तय गर्न पार्टी संसदीय बोर्ड नै गठन गर्न पार्टी सभापति समेत रहनु भएका प्रधानमन्त्री देउवासँग माग गरेका छन । पहिलो र दोस्रो चरणको निर्वाचनमा देउवाले आफ्ना पक्षलाईमात्रै उम्मेदवार बनाएका कारण पनि पार्टीले अपेक्षा गरे अनुसार नतिजा ल्याउन नसकेको आरोप समेत लगाउँदै आएको छ ।