विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण,मिश्र र थापालाई सहसंयोजकको जिम्मेवारी

arjun Photo Gallery , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाण्डौ,११ साउन । विवेकशील नेपाली दल र साझा पार्टीबीच एकीकरण भएको छ । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी रविन्द्र मिश्र नेतृत्वको साझा पार्टी र उज्वल थापा नेतृत्वको विवेकशील नेपाली दलबीच पार्टी एकता भएको घोषणा गरिएको हो । एकतापछि पार्टीको नाम विवेकशील साझा पार्टी राखिएको छ । पार्टीको एकता घोषणा कार्यक्रममा बोल्दै दुई पार्टीका नेताद्धय मिश्र र थापाले मुलुकमा बैकल्पिक राजनीतिक शक्ति निर्माण गर्न पार्टी एकता गरिएको दावी गरे । नेता मिश्रले परम्परागत राजनीतिक शैलीले मुलुकलाई निकास दिन नसक्ने भएकाले बैकल्पिक राजनीतिक शक्ति निर्माणका लागि एकीकरण गरिएको स्पष्ट पारे। थापाले मुलुकलाई सबल नेतृत्व दिन दुई पार्टीबीच एकीकरण गरिएको दावी गर्नु भयो । दुवै नेताले अव मुलुकलाई समृद्ध बनाउन जोश र होस्ले युक्त युवाहरुलाई परिचालन गर्ने पार्टीको योजना पनि सुनाए
दुवै पार्टीबाट १७÷१७ जना रहने गरी पार्टी केन्द्रिय कार्य समिति गठन गरिएको छ । पार्टीको सबैभन्दा माथिल्लो निकायको रुपमा संयोजन समिति गठन गरिएको छ । संयोजन समितिमा मिश्र र थापा दुवैलाई सहसंयोजकको जिम्मेवारी दिइएको छ । समितिमा दुवै पार्टीका ४÷४ जना सदस्य रहेका छन । संयोजन समितिको बैठकको अध्यक्षता गर्ने जिम्मेवारी भने मिश्रलाई दिइएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । पार्टीको चुनाव चिन्ह तराजु राखिएको छ । एक स्वायत्त अनुशासन आयोग गठन गरी पार्टी नेतृत्व र सदस्यमाथि अनुशासनको कार्वाही गर्ने व्यवस्था पनि गरिएको पार्टीले जनाएको छ ।