सातै प्रदेशबाट द्वन्द्वकालीन घटनाको अनुसन्धान सुरु

arjun Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाडौँ, १२ साउन । द्वन्द्वकालीन घटनाको सत्यतथ्य पत्ता लगाउन सरकारले गठन गरेको सत्य निरुपण तथा मेलमिलाप आयोगले सातवटै प्रदेशबाट अनुसन्धान सुरु गरेको छ ।  आयोगले सात प्रदेशमा खडा गरेको मुकामबाट द्वन्द्वकालीन घटनामा परेका उजुरीको अनुसन्धान सुरु गरेको हो । आयोगले प्रदेश नं १, ३, ५, ६ र ७ मा गत जेठ २१, प्रदेश नं ४ मा गत असार २८ र प्रदेश नं २ मा यही साउन ४ गतेबाट आयोगमा परेका उजुरीको अनुसन्धान सुरु गरेको हो ।

अनुसन्धानका लागि आयोगले पहिलो चरणमा प्रत्येक प्रदेशमा एक÷एक हजार उजुरी सम्बन्धित क्षेत्रमा पठाएर अनुसन्धान सुरु गरेको छ । “सम्बन्धित प्रदेशमा परेका उजुरी अनुसन्धानका लागि पहिलो चरणमा प्रत्येक प्रदेशमा एक÷एक हजार गरी सात प्रदेशमा सात हजार उजुरी अध्ययन गर्न सुरु गरिएको छ”–आयोगका सदस्य मञ्चला झाले भने  ।

आयोगमा अहिलेसम्म ५८ हजार ५२ उजुरी परेको छ । कतिपय पीडितको उजुरी छुटेको गुनासो आएपछि आयोगले पुनः गत असार २५ देखि यही साउन २४ गतेसम्मका लागि उजुरीको आह्वान गरेको छ । आयोगले मानवअधिकारको गम्भीर उल्लङ्घनका घटना, हत्या, अपहरण तथा शरीर बन्धक, व्यक्ति बेपत्ता पार्ने, अङ्गभङ्ग बनाउने, शारीरिक वा मानसिक यातनाको अध्ययन गर्छ । त्यसैगरी बलात्कार तथा यौनजन्य हिंसा, व्यक्तिगत वा सार्वजनिक सम्पति लुटपाट, कब्जा, तोडफोड वा आगजनी, घर जग्गाबाट जबरजस्ती निकाला वा अन्य कुनै किसिमबाट विस्थापन वा अन्तर्राष्ट्रिय मानवअधिकार वा मानवीय कानुनविपरीत गरिएका जुनसुकै किसिमका अमानवीय कार्य वा मानवताविरुद्धको जघन्य अपराधको अनुसन्धान गर्छ । आयोगले उजुरी अनुसन्धानका लागि सुरुमा तीन महिनाको समय तय गरेको छ ।रासस