काठमाण्डौ,१२ साउन । सभामुख ओनसरी घर्तीले प्रमुख राजनीतिक दलहरुले आगामी माघ ७ गते भित्र सबै तहको निर्वाचन सम्पन्न गर्न अझै पर्याप्त पहल गर्न नसकेको गुनासो गरेकी छिन। सभामुख घर्तीले असन्तुष्टिहरुलाई वार्ता र संवादमार्फत् सम्बोधन गरी सबै पक्षलाई संविधान कार्यान्वयनको मूलधारमा ल्याउन सरकारसँग आग्रह पनि गरे । विहिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उहाँले संवैधानिक व्यवस्था अनुसार सबै तहको निर्वाचन सम्पन्न गरी मुलुकलाई राजनीतिक स्थिरता र आर्थिक उन्नतितर्फ डोहो¥याउने दायित्व सरकार र राजनीतिक दलहरुकै भएको पनि स्पष्ट पारे । संविधानमा आगामी माघ ७ गते भित्र प्रदेश सभा, प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचन सम्पन्न गरिसक्नुपर्ने व्यवस्था छ ।
सभामुख घर्तीले संविधानले सबै वर्गको उत्थान हुने क्रान्तिकारी व्यवस्था गरेपनि त्यसलाई कार्यान्वयनमा लैजान नसकिने हो कि भन्ने आशंका बढदै गएको पनि उल्लेख गरे । उनले मुलुकलाई निकास दिन दलहरुबीच बलियो सहकार्यको आवश्यक्तामा पनि जोड दिइन ।
यसैबीच, व्यवस्थापिका संसदमा अत्याधुनिक वेबसाईट र मोबाईल एप्स सेवा सुरु गरिएको छ । सभामुख घर्तीले ससदमा अत्याधुनिक वेबसाईट र मोबाईल एप्सको शुभारम्भ गरिन । त्यस अवसरमा बोल्दै सभामुख घर्तीले संसद र सांसदलाई सोझै जनतासँग जोड्ने अभियान अन्तरगत वेबसाईट र मोबाईल एप्स सेवा संचालनमा ल्याइएको स्पष्ट पारिन। उनले वेवसाईट र एप्सको संचालनबाट संसद र सांसदहरु जनताप्रति अझै बढि जिम्मेवार बन्ने विश्वास पनि व्यक्त गरिन ।
वेबसाईटमा संसदको सूचना, कार्यसूचि, विधेयकहरुको अवस्था, संसदको महत्वपूर्ण दस्ताबेजहरु सजिलै हेर्न सकिने व्यवस्था गरिएको छ । वेबसाईट तथा मोबाईल एप्स संचालनका लागि संसदलाई युएनडिपीले आर्थिक सहयोग उपलब्ध गराएको हो ।