चूडामणि शर्मा र भरतपुरकाे मतगणना विवादको सुनुवाइ आइतबार हुने

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडौँ, १२ साउन । सर्वोच्च अदालतले आन्तरिक राजश्व विभागका महानिर्देशक  शर्मालाई गैरकानुनी रुपमा थुनामा राखेको भनी दायर गरिएको रिट निवेदनमाथिको सुनुवाइ हेर्दाहेर्दैका लागि आइतबारका लागि राखेको छ ।

न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत् पूर्ण इजलासले आज सुनुवाइ हुँदाहँुदै नभ्याएपछि आइतबारका लागि राखिएको सर्वोच्च अदालतका प्रवक्ता महेन्द्रनाथ उपाध्यायले जानकारी दिनुभयो । शर्माका तर्फबाट आज अधिवक्ता डा भीमार्जुन आचार्य, सतीशकृष्ण खरेल, ललित बस्नेतलगायतले बन्दीमा रहेका शर्मालाई तारिखमा छाड्नुपर्ने तर्क राख्नुभएको थियो । शर्मालाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्न आदेश दिएपछि अहिले थुनामा राखिएको छ । सोही इजलासले यही साउन ८ गते शर्माको विशेष अदालतमा रहेको मुद्दाको मिसिल झिकाउने आदेश दिएको थियो ।

गत असार ४ गते न्यायाधीश चोलेन्द्रशमशेर जबरा र प्रकाश राउतको संयुक्त इजलासले शर्माको विशेष अदालतको मुद्दालाई यथास्थितिमा राखी सो मुद्दा पूर्ण इजलासमा पठाउन आदेश दिएको थियो । शर्माकी श्रीमती कल्पना उप्रेतीले विशेष अदालतलाई विपक्षी बनाई शर्मालाई गैरकानुनी रूपमा थुनामा राखेको जनाउँदै गत असार २७ गते बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दायर गर्नुभएको थियो । कर फछ्र्याेट आयोगका सदस्य सचिवसमेत रहनुभएका शर्माविरुद्ध एनसेलको स्वामित्व बिक्री हुँदा पुँजीगत लाभकर नउठाई एनसेललाई उन्मुक्ति दिएको, रु २१ अर्ब बराबरको रकम कर मिनाहा गर्न भूमिका खेलेकोलगायत आरोप लगाइएको छ ।

भरतपुर महानगरपालिकाकाे मतगणना विवादको सुनुवाइ 
स्थानीय तहको निर्वाचनअन्तर्गत चितवनको भरतपुर महानगरपालिका–१९ को मतदान पुनः गराउने निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर रिट निवेदनमाथिको सुनुवाइ आज पनि नसकिएपछि आइतबारका लागि हेर्दाहेर्दैमा राखिएको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासमा सुनुवाइ हुँदाहुँदै नसकिएपछि हेर्दाहेर्दैमा आइतबारलाई राखिएको अदालतका प्रवक्ता उपाध्यायले जानकारी दिनुभयो । निर्वाचन आयोगका तर्फबाट महान्यायाधिवक्ता रमण श्रेष्ठले पुनःनिर्वाचन गराउनुपर्ने तर्क प्रस्तुत गर्नुभएको थियो । उम्मेदवार रेणु दाहालका तर्फबाट अधिवक्ता डा दीनमणि पोखरेल, रमेशकुमार मैनाली र गुणराज घिमिरेले निर्वाचनको प्रक्रिया अगाडि माग गर्नुभएको थियो । दाहालका पक्षबाट १२ अधिवक्ता हुनुहुन्छ । बाँकीले आइतबार बहस गर्नुहुनेछ ।