शाहरुख खानको फिल्मका कारण ‘भूईँमान्छे’ धकेलीयो

NewsBankNepal Entertainment/मनोरञ्जन , Latest Update , ७ वर्ष अगाडि

काठमाडौं । राष्ट्रिय भलिबल खेलाडी सिपोरा गुरुङको डेब्यु चलचित्र ‘भूईँमान्छे’को प्रर्दशन मिति २ साता पछि धकेलिएको छ । साउन २० गतेदेखि प्रर्दशनमा आउने तयारीका साथ टिजर सार्वजनिक गरिएको ‘भूईँमान्छे’ले सो मितिमा हल नपाउने भएपछि पछि धकेलिएको हो ।

शाहरुख खान अभिनित चलचित्र ‘जब ह्यारी मिट सेजल’ ले अगष्ट ४ अर्थात साउन २० गतेलाई प्रर्दशन मिति तोकेपछि ‘भूईँमान्छे’को प्रर्दशन मिति फेरबदल गर्नुपरेको निर्देशक नवराज बुढाथोकीले जानकारी दिएका छन् । त्यस लगत्तै अक्षय कुमार अभिनित चलचित्र ‘ट्वाईलेट एक प्रेम कथा’ प्रर्दशनमा आउने भएकाले चलचित्र वितरकको सल्लाहमा ‘भूईँमान्छे’ को प्रर्दशन मिति २ साता पछि सरेको हो । बलिउड स्टार अभिनित चलचित्र प्रर्दशनमा आएपछि नेपाली चलचित्रले हल पाउनै मुश्किल रहेकाले बाध्यतावश चलचित्रको प्रर्दशन मिति सारिएको निर्देशक बुढाथोकीले बताएका छन् । पोस्टमार्टम गर्ने व्यक्तिको कथामा केन्द्रित ‘भूईँमान्छे’ मा रमेश बुढाथोकी, सहिन प्रजापति, बादल भट्टलगायत शैली थिएटरका कलाकारको अभिनय छ ।

लामो समयदेखि नाटक निर्देशन गर्दै आएका बुढाथोकीले यस अघि चलचित्र वनफूल निर्देशन गरेका थिए । वरिष्ठ रंगकर्मी अभिनित वनफूल अहिलेसम्म प्रर्दशनमा आएको छैन । वनफूल भन्दा अघि रोहिणी भट्टराईको लगानीमा निर्माण भएको उनको दोश्रो चलचित्र ‘भूईँमान्छे’ प्रर्दशनमा आउन लागेको हो । भूईँमान्छेसँगै भदौ २ गते हेमराज बि।सी निर्देशीत चलचित्र ग्याङस्टार ब्लुज पनि प्रर्दशनमा आउँदैछ ।

Bhuimanchhe