माघ ७ गते भित्र प्रतिनिधि सभा निर्वाचन नभए मुलुक गम्भिर संकटमा फस्ने ओलीको चेतावनी

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाण्डौ,१३ साउन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी माघ ७ गते भित्र प्रतिनिधि सभा निर्वाचन नभए मुलुक गम्भिर संकटमा फस्ने चेतावनी दिनु भएको छ । अध्यक्ष ओलीले प्रदेश सभा र प्रतिनिधि निर्वाचन एउटै मितिमा गर्न सकिने पनि स्पष्ट पारे । चीनको स्वशासित क्षेत्र तिब्बतको एक साता लामो भ्रमणगरी शुक्रबार स्वदेश फर्केका ओलीले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ संक्षिप्त प्रतिक्रिया दिँदै सरकारलाई अनेक बहानाबाजी बनाएर निर्वाचनलाई पछि सार्ने काम नगर्न पनि सचेत गराए । त्यस अवसरमा अध्यक्ष ओलीले निर्वाचन आयोगले निर्वाचन सार्ने कुरा सोच्न पनि नमिल्ने टिप्पणी गरे।

अध्यक्ष ओलीले राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा आउन नदिन सत्तारुढ काँग्रेसले अनेक दाउपेच गरिरहेको आरोप लगाए । उनले मधेशमा केही भोट थपिन्छ भन्ने आसमा काँग्रेसले राष्ट्रिय जनता पार्टीलाई निर्वाचन आउन नदिन संविधान संशोधनको नाममा छलछामको राजनीति गरिरहेको दावी पनि गरे । अध्यक्ष ओलीले संविधान संशोधन प्रस्तावलाई पास, फेल जे भएपनि मतदानमा लैजाने काँग्रेसको निर्णय राष्ट्रिय जनता पार्टीलाई निर्वाचनमा सहभागी नगराउने दाउपेच भएको दावी समेत गरे। उनले दलगत मागलाई अघि सारेर राष्ट्रिय जनता पार्टीले निर्वाचन जस्तो लोकतान्त्रिक बाटोलाई अवरुद्ध पार्न नहुने पनि उल्लेख गरे ।

अध्यक्ष ओलीले तिब्बत सरकार आफू नेतृत्वको सरकारले चीनसँग गरेको सम्झौता छिटो कार्यान्वयन गर्न प्रतिवद्ध रहेको पनि उल्लेख गरे । उनले तातोपानी, किमाथांका र केरुङ नाका खुलाउन तिब्बत सरकार इच्छुक रहेको तर त्यसका लागि नेपाल सरकारले आवश्यक तयारी नगरेको पनि स्मरण गराए ।अध्यक्ष ओलीले तिब्बत बसाईको क्रममा प्रसिद्ध धार्मिक स्थल मानसरोबरको पनि स्थलगत अवलोकन गरेका थिए ।