प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन एउटै मितिमा गर्न नयाँ शक्तिको प्रस्ताव

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाण्डौ,१३ साउन । बाबराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी, नेपालले पनि प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन एउटै मितिमा गर्ने प्रस्ताव अघि सारेको छ । पार्टीको शुक्रबार सम्पन्न संघीय परिषद बैठकले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन एउटै मितिमा गर्ने निर्णय गरेको हो । नयाँ शक्ति पार्टी, नेपालले स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन एउटै मितिमा गर्न यस अघि नै प्रस्ताव गर्दैआएको थियो । बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बोल्दै पार्टीका संयोजक डा. भट्टराईले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन एउटै मितिमा गरे आफ्नो पार्टीले स्वागत गर्ने बताए ।

पार्टीले संघीय समाजवादी फोरम, नेपालसँगको पार्टी एकीकरण भने तत्काल सम्भव नहुने निष्कर्ष पनि निकालेको छ । संघीय समाजवादी फोरम नेपालसँगको पार्टी एकीकरण तत्काल नगर्ने निष्कर्ष निकालिएको पनि संयोजक भट्टराईले बताए । उनले दूई दलबीचको सहकार्य भने जारी रहने पनि स्पष्ट पारे ।नयाँ शक्ति पार्टी, नेपाल र संघीय समाजवादी फोरम, नेपालबीच स्थानीय तह पहिलो र दोस्रो तहको निर्वाचनमा सहकार्य भएको थियो । यसैबीच, नयाँ शक्ति पार्टी, नेपाल पार्टीको महाधिवेशनको तयारीमा पनि जुटेको छ । संघीय परिषद बैठकले पार्टीको केन्द्रिय कार्यसमिति विघटन गर्दै भट्टराई नेतृत्वको प्रथम महाधिवेशन आयोजक समिति गठन गरेको हो ।