प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन एकै पटक गर्न मिल्दैन :प्रमुख आयुक्त यादव

arjun Latest Update , MainNews/प्रमुख समाचार , Photo Gallery , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाण्डौ,१५ साउन । निर्वाचन आयोगले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन एकै पटक गर्न मिल्ने अवस्था नरहेको स्पष्ट पारेको छ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले संविधान, कानुन तथा निर्वाचनको व्यवस्थापकीय र प्राविधिक दृष्टिकोणबाट पनि प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन एकैपटक गर्ने अवस्था नरहेको प्रष्टयाएका हुन ।

सरकारले प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचन एकैपटक गर्ने तयारी गरिरहेको छ । तर, निर्वाचन आयोगले भने त्यसो गर्न संविधान र कानुन अनुसारनै नमिल्नेतर्फ सरकारको ध्यानाकर्षण गराएको छ । आज(आईतबार) बसेको व्यवस्थापिका संसद सुशासन तथा अनुगमन समितिको बैठकमा बोेल्दै प्रमुख निर्वाचन आयुक्त यादवले प्रदेश सभाको निर्वाचन नभई राष्ट्रिय सभा निर्वाचन गराउन मिल्ने अवस्था नरहेको पनि उल्लेख गरे । निर्वाचन आयोगले यस अघि नै असोज अन्तिम साता प्रदेश सभाको, कार्तिकको तेस्रो साता राष्ट्रिय सभाको र मंसीरको पहिलो साता प्रतिनिधि सभा निर्वाचन गर्नेगरी तयार पारेको कार्यतालिका सरकारलाई बुझाई सकेको छ । प्रमुख निर्वाचन आयुक्त यादवले आगामी माघ ७ गते भित्र सबै तहको निर्वाचन सम्पन्न गराउन सरकार प्रतिवद्ध रहेको पनि दोहो¥याए ।

प्रमुख निर्वाचन आयुक्त यादवले स्थानीय तह तेस्रो चरणको निर्वाचनको तयारीको कामलाई तीव्रता दिइएको पनि स्मरण गराए । असोज २ गते स्थानीय तह तेस्रो चरणको निर्वाचन सम्पन्न हुँदैछ । प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनका लागि भदौ ७ गते मुख्य निर्वाचन अधिकृतको कार्यालय र भदौ १२ गते निर्वाचन अधिकृतको कार्यालय स्थापना हुने जानकारी दिए । निर्वाचन आयोगले भदौ २१ गते उम्मेदवार मनोनयन हुने गरी स्थानीय तह तेस्रो चरणको निर्वाचनको कार्यतालिका सार्वजनिक गरिसकेको छ । प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनलाई कम खर्चिलो, पारदर्शी र निष्पक्ष बनाउन आयोग लागि परेको पनि बताउनु भयो । उहाँले निर्वाचन सामग्री खरिद प्रक्रिया सार्वजनिक खरिद ऐन अनुसार गरिएको पनि उल्लेख गरे ।