घरमै बसेर महसुल तिर्न सक्ने प्रविधि ल्याउँदै विद्युत् प्राधिकरण

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडौँ, १५ साउन । लामो समयसम्म लाम लागेर महसुल तिर्नुपर्ने झन्झटबाट मुक्ति दिन नेपाल विद्युत् प्राधिकरणले अब अनलाइन प्रणालीबाटै वा मोबाइल फोनमार्फत महसुल तिर्न सकिने प्रणालीको जडान कार्य अगाडि बढाएको छ । नेपाल टेलिकमका ग्राहकले घर, कार्यालय, सार्वजनिक स्थानमै बसेर टेलिफोन महसुल तिरेजस्तै अब प्रविधिको प्रयोग गरेर प्राधिकरणका ग्राहकका लागि पनि त्यसखालको प्रणालीको विकास गर्न लागिएको हो । सेवाग्राहीलाई प्राधिकरणका काउन्टर धाएर समय र थप रकमसमेत खर्च गर्नुपर्ने र दिन नै माया मारेर धाउनुपर्ने अवस्थाको समेत नयाँ प्रणालीको जडान पछि अन्त्य हुनेछ । प्राधिकरणले सेवाग्राहीले भोग्नुपरेको झन्झट अन्त्य गर्न महसुल तिर्ने ‘प्रिपेड’ प्रणाली कार्यान्वयनमा ल्याउन लागेको हो ।

प्राधिकरणले यस्तो प्रणाली पहिलो चरणमा महाराजगन्ज र रत्नपार्क वितरण केन्द्रअन्तर्गतका क्षेत्रमा जडान गर्नेछ । त्यसपछि मुलुकभर नै त्यस्तो प्रणाली जडान गर्ने तयारी गरिएको छ । महसुल पनि प्रिपेड कार्डबाट तिर्न सकिनेछ । प्राधिकरणले रत्नपार्क र महराजगन्ज वितरण केन्द्रको प्रसारण तथा वितरण प्रणालीलाई भूमिगत गर्ने कार्यका लागि केही दिन पहिले मात्रै विश्वव्यापी बोलपत्र आह्वान गरिसकेको छ ।
प्राधिकरणले आगामी असोज ४ गतेसम्म बोलपत्र पेश गर्ने अन्तिम मिति तोकेको छ । बोलपत्रदातालाई भूमिगत वितरण प्रणालीको खाका, सामान आपूर्ति, जडान र सञ्चालन गर्नुपर्ने शर्त राखिएका छन् । रासस