प्रदेश नम्बर २ मा गएर प्रचण्डले भने कांग्रेस, एमालेले किरा परेको पिठो बेचे अब बिक्न नदिऔँ !

arjun MainNews/प्रमुख समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

धनुषा, १६ साउन । नेकपा (माओादी केन्द्र)का अध्यक्ष पुष्पकमल दहाल ‘प्रचण्ड’ले प्रदेश नम्बर २ मा हुने स्थानीय तहको निर्वाचनमा पार्टीले मधेश केन्द्रित दलसँग गठबन्धन गरेर चुनाव लड्ने बताउनुभएको छ । आज जनकपुरमा आयोजित पार्टी कार्यकर्ताको आन्तरिक प्रशिक्षण कार्यक्रममा उहाँले दोस्रो चरणअन्तर्गत स्थानीय तहको चुनावमा कांग्रेससँग गरेको गठबन्धन भने तेस्रो चरणमा कांग्रेससँग मात्रै सीमित नहुने स्पष्ट पार्नुभयो ।

अध्यक्ष दाहालले तेस्रो चरणअन्तर्गत स्थानीय तहको चुनावमा राजपालाई समेत सहभागी गराउनुपर्नेमा जोड दिदैं “राजपालाई सहभागी गराएर चुनाव गराउन सके राम्रो हुन्छ, त्यसैले राजपासहितको चुनाव गराउनमा हाम्रो शक्ति केन्द्रित छ,” भन्नुभयो । “प्रदेश नं. २ मा अझै पनि स्थानीय तहको संख्या बढ्न सक्ने सम्भावना छ,”उहाँले भन्नुभयो “साउन १७ गते अदालतले सरकारको निर्णय कार्यान्वयन गर्न फुकुवा गरिदियो भने स्थानीय तहको संख्या प्रदेश नम्बर २ मा बढ्न सक्छ ।”

अध्यक्ष दाहालले संख्या बढ्यो भने राजपाको माग पनि सम्बोधन हुने धारणा व्यक्त गर्नुभयो । प्रदेश र केन्द्रको चुनाव एकै चरणमा गर्न राजनीतिक दलहरू सकारात्मक रहेको बताउँदै उहाँले “राजनितिक दल एकै चरणमा प्रदेश र केन्द्रको चुनाव गर्ने विषयमा तयार छन्,” भन्नुभयो । अध्यक्ष दाहालले निर्वाचन आयोगले एकै चरणमा केन्द्र र प्रदेशको चुनाव गराउन प्राविधिक कठिनाई हुने देखाइरहेको बताउँदै एकै चरणमा केन्द्र र प्रदेशको चुनाव गर्न अझै पनि हामी कसरत गरिरहेका छौं भन्नुभयो ।

उहाँले भन्नुभयो, ‘हिटलर राष्ट्रवादको नारा दिएर नै जर्मनीको सत्तामा हाबी भयो । नश्लवादी राष्ट्रवादले अन्ततः जाति जातिलाई लडाउँछ र राष्ट्रिय एकतालाई कमजोर बनाउँछ । अन्धराष्ट्रवाद अन्तिममा फासीवादमा बदलिन्छ, नेपालमा पनि यो अभ्यास गर्न खोजिएको छ ।’ मधेशी राष्ट्रवाद र पहाडे राष्ट्रवादका नाममा हिटलरहरु जन्मन खोज्दैछन्, उहाँले भन्नुभयो, ‘उनीहरु एउटा जातिलाई काखी च्यापेर अरु जातिमाथि छुरा हान्न खोज्दै छन् ।’

कार्यकर्तामाझ प्रचण्डले भन्नुभयो, ‘हामीले बासमति चामल फलायौ । तर, बेच्न नै लगेनौ, घरमै पोको पारेर राख्यौँ । तर, प्रतिगामीहरु कुहेको पिठो बोकेर घरघर गए । अब हामी चामल बेच्न घरघर जाऔं । कांग्रेस, एमालेको किरा परेको पिठो बिक्न नदिऔँ ।’

एमालेलाई मधेशी, जनजातिको अधिकार, संघीयता, गणतन्त्र र नयाँ संविधान मन पर्दैन । उनीहरु बाध्यतावश स्वीकार्दै छन् । बलिया भए भने परिवर्तन उल्टाउँछन् । माओवादी फुट्दा जनता रोएका छन्, सिकाउँदै उहाँले भन्नुभयो, ‘जनताको त्यत्रो अपेक्षा थियो। तसर्थ, सबै माओवादीमा अब जुट्ने बुद्धि आउनुपर्छ ।’