राज्यकै कमजोरीका कारण मुलुकमा भ्रष्टाचार बढ्दो :नेता खनाल

arjun Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाण्डौ,१७ साउन । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले राज्यकै कमजोरीका कारण मुलुकमा भ्रष्टाचार बढ्दै गएको दावी गरेका छन । वरिष्ठ नेता खनालले राज्यले नीतिगत व्यवस्था नगरेकै कारण मुलुक विश्वमै भ्रष्ट मुलुकको रुपमा चित्रण हुन पुगेको पनि स्पष्ट पारे ।

आज मंगलबार व्यवस्थापिका संसद सुशासन तथा अनुगमन समितिको बैठकमा बोल्दै उनले विगतमा स्रोत र साधनलाई दुरुपयोग हुन नदिन राज्यले उपयुक्त नीति नलिएपछि मुलुकमा आर्थिक अनियमितताको श्रृखलानै सुरु भएको पनि उल्लेख गरे । वरिष्ठ नेता खनालले अव भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारलाई नियन्त्रण गर्न उपयुक्त कदम चाल्ने विश्वास पनि व्यक्त गरे। नयाँ संविधानले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई प्रशष्त अधिकार दिएको उल्लेख गर्दै अव छिट्टै मुलुक भ्रष्टाचारमुक्त हुने आशा पनि व्यक्त गरे ।

नेता खनालले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई भ्रष्टाचार नियन्त्रणका लागि अझ बढि जिम्मेवार बन्न पनि ध्यानाकर्षण गराए । उनले शिक्षा र स्वास्थ्यको क्षेत्रमा सबैभन्दा बढि भ्रष्टाचार भएको पाइएको उल्लेख गर्दैं त्यसलाई नियन्त्रण गर्न पनि आवश्यक कदम चाल्न अख्तियार दुरुपयोग अनुसन्धान आयोग अग्रसर हुने विश्वास पनि व्यक्त गरे ।