काठमाडौँमा आजदेखि ‘सेफ्टी पिन’ अभियान,सार्वजनिक बसमा यौनहिंसा रोक्न प्रहरीको ‘स्टिङ अप्रेसन’

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडौँ १८ साउन – महानगरीय प्रहरीले आजदेखि ३ महिनासम्म सार्वजनिक सवारीसाधनमा महिलाहरुमाथि हुने यौनजन्य हिंसा रोक्न ‘सेफ्टी पिन’ अभियान सञ्चालन गर्ने भएको छ ।
सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा महिलाहरु यौन हिंसामा पर्ने गरेका घटना बढ्न थालेपछि नियन्त्रणका लागि महानगरीय प्रहरीले अभियान नै चलाउन लागेको हो । तीन महिनासम्म यो अभियान चलाइने महानगरीय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) बमबहादुर भण्डारीले जानकारी दिनुभयो ।
अभियानका क्रममा एक जना महिला प्रहरी र अन्य २ जना सादा पोशाकका प्रहरी रहने छन् । आजदेखि सुरुहुने अभियान अन्तर्गत महानगरमा सार्वजनिक सवारीसाधनमा महिलामाथि हुने यौनजन्य हिंसा रोक्न जनचेतनामूलक कार्यक्रमसँगै ‘स्टिङ अप्रेसन’ गरिने छ ।
अभियान अन्तरगत जनचेतनामूलक प्रचारप्रसार गर्ने, घटना घटिहाले तत्काल त्यहिबाट कानुनी कारबाही अगाडी बढाउने प्रहरीको भनाई छ । महिलामाथि हुने यौन हिंसा रोक्न सार्वजनिक यातायातमा तीन जनाको टोली नै खटाइने योजना प्रहरीको छ ।
तीन महिनासम्म अभियान सञ्चालन भएपछि कार्यक्रमको प्रभावकारिताको मूल्यांकन गरी थप योजना बनाइने डीआईजी भण्डारीको भनाई छ ।
कार्यक्रम प्रभावकारी भए पुनः सञ्चालन गर्न सकिने र नभए नयाँ कार्यक्रम ल्याइने उहाँको भनाई थियो ।
‘सेफ्टी पिन’ अभियानका लागि प्रहरीले यातायात व्यवसायी महासंघ, यातायात व्यवसायी संघ, बागमती अञ्चल समिति र सामुदायिक सेवा उपत्यका समन्वय परिषद् र सामुदायिक सेवा केन्द्रहरुसँग समन्वयन गरेको छ ।