काठमाडौँ, १८ साउन । कीर्तिपुर नगरपालिकाले एकीकृत बस्ती विकासका लागि स्थानीय सल्यानथानदेखि तीनथाना सिमानासम्मको जमिनलाई उपयुक्त ठहर गरेको छ । करिब तीनहजार रोपनी क्षेत्रफल रहेको त्यस स्थानमा सम्भाव्यता अध्ययन गरिरहेको नगरपालिकाले भूकम्प प्रतिरोधात्मक र बलियो भवन निर्माणका लागि गृहकार्य गरिरहेको हो । विसं २०७२ को भूकम्पमा ठूलो धनजनको क्षति भएको सो नगरपालिकामा प्राचीन बस्ती छन् ।
नगरपालिकाले प्राविधिक सहयोग र थप अनुसन्धानका लागि काठमाडौँ उपत्यका विकास प्राधिकरणसँग सहयोग मागेको छ । प्राधिकरणका प्राविधिकलगायत समूहले सुक्ष्म अध्ययन गरेपछि उक्त स्थान उचित ठहरिएमा विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिने छ ।