राजविराज, १८ साउन । श्रम तथा रोजगारमन्त्री फरमुल्ला मन्सुरले वैदेशिक रोजगारीमा जाने युवायुवती ठगीमा परेको भन्दै फ्रि भिसा फ्रि टिकटको निर्णय छिट्टै कार्यान्वयनमा ल्याउने बताएका छन् । सप्तरीको सदरमुकाम राजविराजस्थित सुरक्षित आप्रवाशन तथा सूचना केन्द्रको गतिविधि तथा ठगीमा परेकासँग जानकारी लिने क्रममा उनले यस्तो बताएका हुन् ।
गाउँगाउँमा वैदेशिक रोजगारीको नाममा संस्थागतरुपमा ठगी भइरहेकाले यस विषयमा आफूले साउन महिनाभित्र नयाँ कदम चाल्ने समेत उहाँले प्रतिबद्धता व्यक्त गरे । गरिब एवं विपन्न परिवारका व्यक्तिले सुविधाका लागि सरकारले दिएको फ्रि भिसा फ्रि टिकटको निर्णय छिट्टै कार्यान्वयन हुन्छ, उनले आश्वासन पनि दिए । करिब दुई वर्ष अगाडि सरकारले निःशुल्क भिसा र निःशुल्क टिकटको निर्णय लिए पनि हालसम्म कार्यान्वयनमा नआउँदा ‘देशैभरिका जिल्लामा वैदेशिक रोजगारीमा जाने व्यक्ति ठगीमा पर्ने गरेको र ठग पोख्त रहेका कारण प्रमाण नछोड्दा कारबाही प्रक्रिया पनि प्रभावकारी हुन नसकेको मन्त्री मनसुरले गुनासो गरे