चितवन,१९ साउन । मुग्लिन नारायणगढ सडकखण्डमा पहिरोले चार सवारी साधान पुरिएका छन । इच्छाकामना र चेपाङडाँडामा झरेको पहिरोले दुई वटा ट्रक,एउटा बस र जीप पुरिएको मुग्लिन नारायणगढ सडक आयोजनाका इञ्जिनियर शिव खनालले जानकारी दिए । पहिरोले सवारी साधन पुरिए पनि मानविय क्षति भने भएको छैन ।
गएराति नै उक्त सडक खण्डको इच्छाकामना ६ मा पहिरोमा दुईवटा सवारी पुरिएको थियो । ती सवारी अझै निकालिएको छैन ।काठमाडौंबाट इलाम जाँदै गरेको ना ६ ख ७१२१ नम्बरको यात्रुवाहक बस बा १५ च ९३८१ नम्बरको स्करपियो पहिरोले पुरिएका थिए । पहिरो खसेको देखेपछि चालक र यात्रुहरु भागेका थिए । यात्रुवाहक बसेमा २३ जना यात्रु थिए ।
पहिरो हटाउन ४ वटा लोडर र एक जेसिबी स्काभेटर प्रयोग गरिएको छ । आज अपरान्हसम्म पहिरो पन्छाइ सकेर सडक सञ्चालन गर्न काम भइरहेको इञ्जिनियर खनालले बताए । बुधबार साढे ७ बजेदेखि मुग्लिन-नारायणगढ सडक खण्ड अवरुद्ध छ ।