काठमाडौँ, १९ साउन । मन्त्रिपरिषद्को आजको बैठकले राष्ट्रिय योजना आयोगको रिक्त उपाध्यक्ष पदमा डा स्वर्णीम वाग्लेलाई नियुक्त गरेको छ ।केही दिनअघि आयोगका उपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले राजीनामा दिएपछि सो पद रिक्त थियो । नवनियुक्त डा वाग्ले यसअघि दुई पटक आयोगको सदस्य भएका थिए ।
यस्तै बैठकले नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षकमा ११ जनालाई बढुवा गरेको सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले जानकारी दिए ।बढुवा हुुनुभएकामा प्रहरी नायब महानिरीक्षकहरु बमबहादुर भण्डारी, जयबहादुर चन्द, देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमलसिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्टराई रहेका छन ।यस्तै मन्त्रिपरिषद बैठकले अमेरिकी सरकारी निकाय ‘मिलेनियम च्यालेन्ज कर्पोरेशन’बाट सडक यातायात र विद्युत् प्रशारणसम्बन्धी कार्यका लागि प्राप्त हुने रु ५१ अर्ब ३८ करोड सहायता रकम स्वीकार गर्ने निर्णय पनि गरेको छ । मन्त्री बस्नेतले सो रकमबाट पाँच वर्षभित्र त्यस क्षेत्रमा सुधारको काम सम्पन्न गर्नुपर्ने बताए। रासस