भरतपुर–१९ मा पुनः मतदान , सुरक्षा व्यवस्थामा कडाइ

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

चितवन, २० साउन । पहिलो चरणको स्थानीय तहको निर्वाचनको मतगणनाका क्रममा मतपत्र च्यातिएको भरतपुर महानगरपालिका वडा नं १९ मा आज पुनः मतदान भई रहेको छ । बिहान ७ बजेपछि सो वडाका तीन मतदानस्थलका ६ वटा मतदान केन्द्रमा मतदान शुरु भएको मुख्य निर्वाचन अधिकृत कविप्रसाद न्यौपानेले बताए । सो वडामा किरण मावि, किरणगञ्ज मतदानस्थलमा एक हजार २४८, जीवनज्योति स्कुल गुञ्जनगरमा एक हजार ३०६ र शारदानगर माविमा एक हजार २४३ गरी कुल तीन हजार ७९७ मतदाता छन् । यसअघि वडा नं १९ मा दुई हजार ८९७ मत खसेको थियो ।

मतदानका लागि मतदान अधिकृतसहित ३६ जना कर्मचारी खटिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । हिजोदेखि नै सो वडामा बर्सात भइरहेको छ । राष्ट्रियरुपमा चर्चामा रहेको यस वडामा निर्वाचनका लागि सुरक्षा व्यवस्थामा कडाइ गरिएको छ । एउटा वडामा मात्रै एक हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला सुरक्षा समितिले जनाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार नेपाल प्रहरीका ४६१ र सशस्त्र प्रहरीका २९५ जना परिचालन गरिएको छ । बाहिरी घेरामा नेपाली सेना र भित्री घेरामा राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालन गरिएका छन् ।

गत जेठ १४ गते राति मतगणनाका क्रममा मतपत्र च्यातिएपछि विवादित बनेर मुद्दा परेको भरतपुर–१९ को विषयमा सर्वोच्च अदालतले गत शनिबार निर्वाचन आयोगको निर्णय सदर गर्दै पुनः मतदानको फैसला सुनाएपछि आज पुनः निर्वाचन भएको हो।भरतपुरका २७ वटा वडाको अन्तिम परिणामअनुसार नेकपा ९एमाले०का नगर प्रमुखका उम्मेदवार देवीप्रसाद ज्ञवालीले ४० हजार ९८० मत प्राप्त गर्नुभएको थियो भने नेकपा (माओवादी केन्द्र) नेपाली काँग्रेस गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी रेणु दाहालले ४० हजार १९४ मत प्राप्त गरेका थिए ।