काठमाण्डौ,२० साउन । आपूर्ति मन्त्री शिवकुमार मण्डलले आयल निगमको जग्गा खरिद प्रकरणमा अनियमितता भएको पुष्टि भए कडा कार्वाही गर्ने चेतावनी दिएका छन। मन्त्री मण्डलले संसदीय समितिहरुले जग्गा खरिद प्रकरणका विषयमा आवश्यक अनुसन्धान प्रक्रिया अघि बढाएकाले त्यसमा आफूले धेरै बोलिरहन नमिल्ने पनि स्पष्ट पारे ।
आयल निगमको जग्गा खरिद प्रकरणमा ठूलो आर्थिक घोटाला भएको आशंका गर्दै संसदीय समितिहरुले छानवीन प्रक्रिया अघि बढाएका छन । मन्त्री मण्डलले संसदीय समितिहरुको दिएको निर्देशन भित्र रहेर आयल निगम भित्र अनियमितता भएको पाईए कानुन अनुसार कार्वाही गर्न आफूले एक मिनेट पनि ढिलाई नगर्ने दृढता पनि व्यक्त गरे । आज शुक्रबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले आयल निगम भित्रको अनियमितता अन्त्य गर्दै पेट्रोलियम पदार्थको आपूर्ति व्यवस्थालाई सहज बनाउन पनि आफू लागि पर्ने प्रतिवद्धता पनि व्यक्त गरे ।
आपूर्ति मन्त्री मण्डलले अतिआवश्कीय बस्तुको अभाव हुन नदिने दृढता पनि व्यक्त गरे । उनले दशै, तिहार जस्ता चाडपर्वका बेला अत्यावश्यकीय बस्तुको अभाव हुन नदिने गरी उचित व्यवस्थापन गर्न मातहतका निकायलाई निर्देशन दिइएको पनि जानकारी दिए ।