इन्फ्लुएन्जाका कारण वालिङका विद्यालयहरु एक हप्ताका लागि बन्द

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

वालिङ (स्यांजा), २१ साउन । वालिङमा फैलिएको सिजनल इन्फ्लुएन्जा (ए एचवान एनवान) का बिरामी बढेसँगै त्याहाका  विद्यालय एक हप्ताका लागि बन्द गरिएका छन् ।

वालिङ बजारमा पछिल्लो समय सिजनल इन्फ्लुएन्जाको संक्रमण बढेपछि वालिङ तथा नजिकैको भिरकोट नगरपालिकाको बजार क्षेत्रका निजी विद्यालय बन्द गरिएका हुन् । “अहिलेको अवस्थामा भीडभाडमा हिँडडुल गर्न सबैलाई असहज परिस्थिति भएको महसुुुस गर्दै यहाँका सरोकारवालाको समन्वयमा आजदेखि २८ गतेसम्म विद्यालय बन्द गरिएको छ”, जिल्ला शिक्षा कार्यालय स्यांजाका स्रोतव् यक्ति भरतप्रसाद बगालेले भने , “अहिलेको बिदालाई अन्य बिदामा कटाउने गरी जिल्ला शिक्षा कार्यालयले स्वीकृति दिएको हो ।”

यहाँका सामुदायिक विद्यालय साउन २२ गतेसम्म बर्खे बिदामा रहेकाले सामुदायिक विद्यालयमा बिदा गर्नु नपरेको बगालेले बताए । बजार क्षेत्रमा रहेका करिब १७ संस्थागत विद्यालय साउन २८ गतेसम्मका लागि बिदा गरिएको छ ।

वालिङ तथा आसपासका क्षेत्रबाट २० जनाको रगत र घाँटी (थ्रोट स्वाब)को परीक्षण गर्दा पाँच जनामा एचवान एनवान पोजेटिभ र एक जनामा इन्फ्लुएन्जा ‘बी’ पोजेटिभ देखिएको थियो । यही साउन ९ गते एक जनाको उपचारका क्रममा निधन भएपछि वालिङ आसपासका २० जनाको नमूना संकलन गरिएको थियो ।