काठमाण्डौ,२२ साउन । सरकारले सुख्खा एवम् खडेरी प्रभावित पूर्वि तथा मध्य तराईका जिल्लाहरुमा राहत कार्यक्रम घोषणा गरेको छ । कृषि विकास मन्त्री रामकृष्ण यादवले प्रदेश नम्बर २ को ८ जिल्लामा सुख्खा एवम् खडेरी प्रभावित पूर्वि तथा मध्य तराईका जिल्लाहरुमा राहत कार्यक्रम घोषणा गरेका हुन ।
आज आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी घोषित कार्यक्रममा तत्काल सिंचाई व्यवस्थापन गर्न थप ५ सय स्यालो टयूबेलको व्यवस्था गर्ने उल्लेख गरिएको छ । त्यसैगरी धान रोपाईका लागि पानीको स्रोत बन्न सक्ने खोला, घोल, ताल आदिबाट पानी तानि सिंचाईको व्यवस्थाका लागि प्रति जिल्ला २५ का दरले करिव ५० लाख रुपैयाँ बराबरको पाईप वितरण गरिनेछ । मन्त्री यादवले तत्काल धान रोपाई गर्न सिंचाईको व्यवस्था गर्ने कार्य तत्काल सुरु गर्न लागिएको जानकारी दिए । उनले डिप बोरिङको व्यवस्था गर्न जिल्ला कृषि विकास कार्यालयहरुलाई निर्देशन दिइएको पनि उल्लेख गरे।
सरकारले सिंचाईको स्रोत नै नभएको सुख्खा क्षेत्रमा छरुवा धान छर्ने खेती प्रणालीका लागि आवश्यक उन्नत जातका बीऊहरु वितरण पनि गर्ने भएको छ । प्रदेश नम्बर २ को ८ जिल्लाका लागि करिव १० लाख बराबरको छरुवा धानका उन्नत जातका बीऊहरु वितरण गर्ने निर्णय लिइएको पनि मन्त्री यादवले जानकारी दिए ।