पैसा हुनेले मात्रै निर्वाचन जित्ने अवस्था आयो – अध्यक्ष दाहाल

arjun Latest Update , MainNews/प्रमुख समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाडौँ, २४ साउन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पैसा हुनेले मात्रै निर्वाचन जित्नसक्ने अवस्था आएको भन्दै सबै वर्ग र क्षेत्रका जनताले जित्न सक्ने निर्वाचन प्रणाली बनाउनुपर्नेमा जोड दिएका छन ।

नेकपा (माओवादी केन्द्र) प्रदेश नं–३ अन्तर्गतका केन्द्रीय महाधिवेशन आयोजक समिति सदस्यका लागि  आज आयोजना गरिएको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उनले अहिलेको निर्वाचन प्रणालीले गरिब, उत्पीडितले निर्वाचन जित्न नसक्ने भएकाले निर्वाचन प्रणाली बदल्नुपर्ने बताए ।

उनले भने धनीले मात्र जित्ने, प्रतिभा एवं जनसमर्थन भएर पनि गरिबले हार्ने निर्वाचन प्रणाली कायम भएकाले यसलाई बदल्नुको विकल्प छैन । पार्टीबीच चुनावमा प्रतिस्पर्धा हुने पूर्ण समानुपातिक प्रणालीले मात्र निर्वाचनमा देखिएको आर्थिक अराजकता र विकृतिलाई रोक्न सकिने अध्यक्ष दाहालकाे भनाइ थिए । नेपाली जनताले एकताका लागि पहल गर भन्ने सन्देश दिएको उल्लेख गर्दै उनले जनआवाजलाई बुझेर सबै माओवादी धारा र देशभक्त एक हुनुको विकल्प नरहेको बताए ।