मेलम्ची, २५ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले मेलम्ची खानेपानी परियोजनाका पदाधिकारीलाई आयोजना निर्माण कार्य निर्धारित समयमै सम्पन्न गर्न निर्देशन दिएका छन । आयोगको स्थलगत निरीक्षणका क्रममा आज प्रधानमन्त्री देउवाले निर्माण कार्य छिटोभन्दा छिटो पूरा गर्न निर्देशन दिँदै यसमा सरकारबाट के के सहयोग चाहिन्छ, ती सहयोग गर्न तयार रहेको बताए ।
प्रधानमन्त्री देउवाले काठमाडौँ उपत्यका नेपालको राजधानी मात्र नभई धेरै किसिमले महत्वपूर्ण ठाउँ भएकाले यहाँ शुद्ध खानेपानीको अति आवश्यक रहेको बताउँदै “काठमाडौँवासीले छिटोभन्दा छिटो शुद्ध खानेपानी पाउनुप¥यो, यही काममा प्रतिवद्ध भएर लाग्न जोड दिए।
विभिन्न कठिनाइका बाबजुद पनि नेपालको अति महत्वपूर्ण परियोजनामा प्रगति भएको सुन्न पाउँदा आफूलाई खुशी लागेको देउवाले बताए ।
कूल साढे २७ किमी सुरुङसहितको मेलम्ची खानेपानी परियोजना आगामी पुस महिनाभित्र निर्माण सम्पन्न हुने गरी द्रुत गतिमा काम भइरहेको छ ।दुई दशमलव १९ किमीमात्र सुरुङ खन्न बाँकी छ । हाल चार स्थानबाट सुरुङ खनिरहेको परियोजनाले दैनिक सरदर ९५ प्रतिशत भौतिक प्रगति भएको जनाएको छ । सन् २००१ बाट परियोजना निर्माण शुरु भएको हो ।