काठमाडौँ, २५ साउन । राष्ट्रिय प्रजातन्त्र पार्टीले वरिष्ठ नेता पशुपतिशम्शेर राणा तथा केन्द्रीय सदस्य ताहिर अलि, जगतप्रसाद गौचन, विजयकला राई, नवोदिता चौधरी, निर्मला श्रेष्ठलाई आज पार्टीबाट निष्कासन गरेको छ । पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमितिको बैठकले पार्टी विभाजन गर्न प्रयत्न गरेकाले ती नेतालाई कारबाही गरेको प्रवक्ता भुवन पाठकले जानकारी दिए । यसअघि पनि पार्टीले १९ नेतालाई कारबाही गरिसकेको छ । बैठकले आगामी भाद्र मसान्तभित्र पाँचै विकास क्षेत्रमा सनातन धर्म सम्मेलन, सातै प्रदेशमा गाउँ, नगर, क्षेत्र र जिल्ला अध्यक्षको भेला गर्ने निर्णयसमेत गरेको छ । बैठकले भदौको पहिलो साता काठमाडौँ उपत्यकास्तरीय कार्यकर्ता भेला गरी प्रशिक्षण कार्यक्रम विभिन्न तहमा सञ्चालन गर्ने निर्णय गरेको छ ।
बैठकले भ्रष्टाचारविरुद्ध विभिन्न तहमा संघर्ष गर्ने निर्णय गरेको छ भने प्रदेश नं २ मा प्रदेशस्तरीय स्थानीय तह निर्वाचनको तयारीमा जुटु्न सम्पूर्ण नेता, कार्यकर्तालाई निर्देशन समेत दिएको छ । यही साउन २३ गतेदेखि जारी केन्द्रीय कार्यसमिति बैठक आज सम्पन्न भएको छ ।