बिर्तामोड (झापा), २६ साउन । झापाको बिर्तामोडस्थित बीएण्डसी अस्पतालले भोलिदेखि स्वाइन फ्लुको उपचार गर्ने भएको छ । स्वाइन फ्लुको उपचारका लागि अस्पतालले बहिरङ सेवादेखि नै शंकास्पद बिरामीलाई बिशेषरुपमा अन्य बिरामीभन्दा बेग्लै राखेर उपचार गर्ने व्यवस्था मिलाएको बीएण्डसी अस्पतालका डा दिलीप शाहले बताए । स्वाइन फ्लुको उपचारका लागि सरकारका तर्फबाट विशेष तालीमसमेत लिएर आउनुभएका डा शाहका अनुसार स्वाइन फ्लु लागेका बिरामीका लागि भेन्टिलेटरसहितको आइसीयु (सघन उपचार कक्ष) अनिवार्य भएकाले त्यसको पनि बेग्लै व्यवस्था गरिएको छ ।
स्वाइन फ्लुको संक्रमण भए÷नभएको पत्ता लगाउने प्रविधि निकै महँगो भएकाले शंकास्पद बिरामीको नमूना संकलन गरी काठमाडौँमा रहेको सरकारको केन्द्रीय प्रयोगशालामा पठाइने र त्यसले दिएको रिपोर्टको आधारमा उपाचार भने बीएण्डसी अस्पतालमा नै हुने समेत डा दिलीप शाहले जानकारी दिए । स्वाइन फ्लुबाट जोगिनका लागि अग्रीम खोप पनि लगाउन सकिने र उक्त खोप पनि बीएण्डसी अस्पतालले भोलिदेखि नै प्रयोगमा ल्याउने अस्पतालका कार्यकारी निर्देशक दुर्गा प्रसाईले बताए ।

