संसदमा विचाराधिन संविधान संशोधन विधेयक तत्काल निर्णयार्थ पेश गर्न सरकार र राजपा सहमत

arjun Latest Update , MainNews/प्रमुख समाचार , Photo Gallery , ७ वर्ष अगाडि

काठमाण्डौ,२७ साउन । सरकार र राष्ट्रिय जनता पार्टी, नेपालबीच संसदमा विचाराधिन संविधान संशोधन विधेयक तत्काल निर्णयार्थ पेश गर्ने सहमति भएको छ । सत्तारुढ काँग्रेस, माओवादी केन्द्र र राष्ट्रिय जनता पार्टीबीच शुक्रबार विहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको छलफलमा संसदमा विचाराधिन संविधान संशोधन विधेयक तत्काल निर्णयार्थ पेश गर्ने सहमति भएको हो । बैठकमा राष्ट्रिय जनता पार्टीले संविधान संशोधन विधेयक पारित हुने विश्वास व्यक्त गर्दै आसन्न प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा भाग लिने प्रतिवद्धता पनि जनाएको छ । तत्काल संविधान संशोधन विधेयकलाई निर्णयार्थ पेश गर्ने सहमति सरकारसँग गरिएको राष्ट्रिय जनता पार्टी, नेपालका नेता सरदसिंह भण्डारीले जानकारी दिए । उनले साउन महिना भित्र संविधान संशोधन विधेयक निर्णयार्थ पेश गर्ने गरी सरकारलाई तयार गर्न आग्रह गरिएको पनि स्पष्ट पारे ।

बैठकमा प्रधानमन्त्री एवम् काँग्रेस सभापति शेरबहादुर देउवा र सत्ता साझेदार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधन विधेयक पारित गर्न अधिकतम प्रयास गर्ने प्रतिवद्धता जनाएका थिए भने राष्ट्रिय जनता पार्टी, नेपालले संविधान संशोधन विधेयक पारित नभएपनि खेलको नियम अनुसार आउने परिणाम स्विकार गरेर अघि बढने बताएका थिए । विधेयक पारित नहुनुको कारण जनतालाई जानकारी गराउन पनि निर्वाचनमा जानुको विकल्प नरहेको नेता भण्डारीले उल्लेख गरे ।स्थानीय तहको संख्या बढाउन मिल्ने गरी विहिबार सर्वोच्च अदालतको आदेश आएपछि राष्ट्रिय जनता पार्टी, नेपाल आसन्न निर्वाचनमा भाग लिन तयार भएको
हो ।