माओवादी केन्द्र मै क्रियाशील हुने नेता झा र शर्माको प्रतिबद्धता

arjun Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाडौँ, २७ साउन । नयाँ शक्ति पार्टी नेपालका सह–सयोजक रामचन्द्र झालगायतका नेता नेकपा (माओवादी केन्द्र)मा नै क्रियाशील हुने निर्णय गरेका छन् । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता जनार्दन शर्मा, उर्मिला अर्याल, मातृका यादव, श्रवण यादवलगायतका शीर्ष नेतासँगको छलफलपछि नेता झा, अर्का नेता रामकुमार शर्मालगायतका नेताले माओवादी केन्द्रमा आवद्ध हुन सहमत भएका हुन् ।

अध्यक्ष दाहाललगायतका नेताहरुसँग छलफलपछि नेता झा र शर्माले आफूहरु सम्पूर्ण रुपले माओवादी केन्द्रमै क्रियाशील रहने प्रतिवद्धता व्यक्त गरे  । छलफलमा तराई–मधेशमा माओवादीलाई शक्तिशाली बनाउन आफूहरु एकतावद्ध भएर अघि बढ्ने समेत संकल्प गर्नुभएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । माओवादी केन्द्रले नेताद्वय झा र शर्मालाई पार्टीको उचित जिम्मेवारी दिने निर्णय गरेको छ । प्रदेश नं– २ मा आगामी असोज २ गते हुने स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रलाई विजयी गराउन सम्पूर्ण शक्तिका साथ लाग्ने उनीहरु  बीच सहमति भएको जनाएको छ ।