काठमाडौँ, २७ साउन । आन्तरिक राजश्व विभागका निलम्बित महानिर्देशक चूडामणि शर्मा साधारण तारेखमा थुनामुक्ता भएका छन् ।
न्यायाधीश दीपकराज जोशी, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र अनिलकुमार सिन्हाको बृहत् पूर्ण इजलासमा लामो समयको सुनुवाइपछि आज सर्वोच्च अदालतले शर्मालाई साधारण तारेखमा थुनामुक्त गर्ने आदेश दिएको हो ।
बन्दी प्रत्यक्षीकरणसम्बन्धी आदेशमा अख्यितार दुरुपयोग अनुसन्धान आयोगले सो आयोगको ऐनको व्यवस्था मर्म र मनसायअनुरुप धरौटी माग गरिएको देखिन आएन भनिएको छ । विशेष अदालतमा साउन १ गते दायर भएको भनिएको कर निर्धारण गर्दा अनियमितता (राजश्व चुहावट) गरी भ्रष्टाचार गरेको मुद्दामा शर्माउपर गरिएको अनुसन्धान क्षेत्राधिकार भित्रको हो कि होइन भन्ने विशेष अदालतले निष्कर्ष निकाल्ने छ ।
अदालतले साधारण तारेखमा शर्मालाई थुनामुक्त गरेको छ । विशेष अदालतमा भने शर्माको भ्रष्टाचारको मुद्दामा सुनुवाइ हुनेछ । सर्वोच्च अदालतले विशेष अदालतमा चलेको मुद्दा यथास्थितिमा राख्न आदेश दिएको थियो तर आज विशेषलाई मुद्दा हेर्नका लागि मिसिलसहित कागजात फिर्ता पठाउन आदेश दिएको छ । अब भ्रष्टाचारको मुद्दा विशेष अदालतले हेर्नेछ ।
शर्माकी श्रीमती कल्पना उप्रेतीले गैरकानुनीरूपमा थुनामा राखेको जिकिरसहित गत असार २७ गते बन्दी प्रत्यक्षीकरणको सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेकी थिइन । सोही निवेदन माथिको सुनुवाइपछि आज शर्मालाई थुनामुक्त गर्ने आदेश जारी भएको हो । कर फछ्र्यौट आयोगका सदस्य सचिवसमेत रहनुभएका शर्मामाथि एनसेललाई स्वामित्व बिक्री हुँदा पुँजीगत लाभकर नउठाइ उन्मुक्ति दिएको रु २१ अर्ब बराबरको रकम कर मिनाहा गर्न भूमिका खेलेकोलगायत आरोप लगाइएको छ । रासस