नगरकोट, २९ साउन । समाजवादी चिन्तक एवं नेपाली काँग्रेसका नेता प्रदीप गिरीले अबको दिन भनेको युवाको दिन भएको बताउँदै अबको दिनमा पनि युवालाई राजनीतिमा अलग राख्ने र बूढा पुस्ताले नै राजनीति गर्ने हो भने नेपालमा कसैले पनि सोचेको जस्तो समाजवादको परिकल्पना हुन नसक्ने बताएका छन् ।
समाजवाद अध्ययन केन्द्रले रत्नागिरि रिसोर्ट, कलमसी, नगरकोटमा शनिवार आयोजना गरेको समाजवाद विषयक नेतृत्व विकाससम्बन्धी कार्यशालामा बोल्दै नेता गिरीले आजका युवालाई विदेश पलायन हुने बाटोभन्दा नेपालमा केही गर्ने वातावरण बनाउन सकेमा मात्र सबैले सोचेजस्तो समाजवादको परिकल्पना गर्न सक्ने बताए । केन्द्रले आठारौँ अन्तर्राष्ट्रिय युवा दिवसका अवसरमा ‘समाजवादको विकासमा युवा भूमिका’ विषयक एकदिने कार्यशाला गरेको हो ।