भगवान श्रीकृष्णको पूजा–आराधना गरी कृष्णाष्टमी पर्व मनाईदै

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , Photo Gallery , ७ वर्ष अगाडि

काठमाण्डौ,३० साउन । आज कृष्णाष्टमी पर्व, भगवान श्रीकृष्णको पूजा–आराधना गरी मनाईंदैछ । यसै अवसरमा ललितपुरको पाटनसहित देशभरका कृष्ण मन्दिरहरुमा बिहानैदेखि दर्शनार्थीको घुईंचो लागेको छ । आज दिनभर धार्मिक प्रवचन, पूजापाठ तथा श्रीकृष्णको रथयात्रा गर्ने र झुला झुलाउने गरिन्छ ।

अन्याय, अत्याचार र आसुरी प्रवृत्तिबाट प्राणीहरुलाई संरक्षण प्रदान गर्न भगवान विष्णुले लिएका १० अवतारमध्ये आठौं अवतार मानिएका श्रीकृष्ण जन्मेको आजको रातलाई मोहरात्री पनि भनिन्छ । आजको दिनले दानवी प्रवृत्तिबाट समाजलाई संरक्षण प्रदान गर्न भगवान श्रीकृष्णले कंसरुपी राक्षस प्रवृत्तिको अन्त्य गरी समाजलाई शान्ति र सुव्यवस्था प्रदान गर्न मार्गदर्शन दिएको मानिन्छ । यस्तै महाभारतमा कौरवरुपी अन्यायी पक्षसँग जुधेर समाज उपयोगी काम गर्न तथा परोपकारमा लाग्न पनि यो दिनले प्रेरणा दिने विश्वास गरिन्छ ।  कृष्णाष्टमीको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी पाटनस्थित कृष्ण मन्दिरमा पुग्ने कार्यक्रम छ ।