तीन दिन भित्र संविधान संशोधन विधेयक पारित हुने राजपाको विश्वास

arjun Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाण्डौ,३० साउन । राष्ट्रिय जनता पार्टी, नेपालले संसदमा विचाराधिन संविधान संशोधन विधेयक तीन दिन भित्र पारित हुने विश्वास व्यक्त गरेको छ । प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा सहभागी हुन तयार देखिएको राष्ट्रिय जनता पार्टी, नेपालले संसदमा विचाराधिन संविधान संशोधन विधेयक पनि पारित हुने विश्वास व्यक्त गरेको हो । पार्टीका नेता जितेन्द्र सोनलले मंगलबार बस्ने संसद बैठकमा विधेयक अघि बढने र ३ दिन भित्र दुई तिहाई बहुमतका साथ पारित हुने विश्वास व्यक्त गरे । संक्षिप्त प्रतिक्रिया दिँदै उनले विधेयक पारित गराउन गम्भिर भएर पहल गर्न पनि सरकारको ध्यानाकर्षण गराए।

नेता सोनलले सरकारले आफूहरुको माग सम्बोधन गर्दै लगेकाले प्रदेश नम्बर २ को स्थानीय तह निर्वाचनमा सहभागी हुने निष्कर्षमा पुगिएको पनि स्पष्ट पारे । उनले स्थानीय तहको संख्या जनसंख्याको आधारमा थप गर्ने बाटो समेत सर्वोच्च अदालतले खोलिदिएको र सरकारले पनि मधेश आन्दोलनका क्रममा घाइते भएकाका परिवारलाई जीविकोपार्जनको समेत व्यवस्था गर्न तयार भएबाट आफूहरुलाई निर्वाचनमा जाने वातावरण बन्न गएको पनि स्मरण गराए ।

सरकार र राष्ट्रिय जनता पार्टी, नेपालबीच संसदमा विचाराधिन संविधान संशोधन विधेयक निर्णयार्थ पेश गर्ने सहमति गत शुक्रबार नै भएको थियो । मंगलबार बस्ने संसद बैठकमा संविधान संशोधन विधेयक अघि बढाउने सरकारको तयारी छ ।