बाढी पहिरोबाट कृषि क्षेत्रमा मात्रै झण्डै ४ अरबको क्षति

arjun Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , ७ वर्ष अगाडि

काठमाण्डौ,३२ साउन । कृषि विकास मन्त्रालयले बाढी पहिरोबाट कृषि क्षेत्रमा झण्डै ४ अरबको क्षति पुगेको बताएको छ । मन्त्रालयले मुलुकका ५ वटै विकास क्षेत्रमा हालैको बाढीले अन्नबाली, तरकारी बाली तथा माछा खेतिमा गरी ३ अर्ब ६४ करोड ३४ लाख मुल्य बराबरको क्षति पुगेको प्रारम्भीक जानकारी गराएको हो । सबै भन्दा बढी मध्यमाञ्चलका १० जिल्लामा बाढीले २ अर्ब ६५ करोड १४ लाखको अन्नबाली, तरकारी, माछा पालन लगायतमा क्षति पुगेको छ ।

त्यसैगरी पुर्वाञ्चलमा ६५ करोड ५० लाख, सुदुर पश्चिमाञ्चलमा १० करोड ८३ लाख, मध्यपश्चिमाञ्चलमा २१ करोड ४९ लाख तथा पश्चिमाञ्चलमाा ५७ लाख बराबरको क्षति पुगेको छ । मन्त्रालयका अनुसार, १ लाख ९८ हजार ६ सय ९८ हेक्टरको धानखेती, २९ हजार १ सय ३७ हेक्टरमा लगाएको तरकारी खेती, ३ हजार ५ सय ६१ हेक्टरमा गरिएको माछा पालन,८ हजार ३ सय ५२ हेक्टरमा लगाएको मकै बाली तथा १ हजार १ सय ११ हेक्टर क्षेत्रफलको दलहन, केरा ५३ हेक्टर, बदाम १५ हेक्टर , तेलहन १५ हेक्टर, माछाका भुरा १५ हेक्टर, तथा १ दशमलब ३४ हेक्टर क्षेत्रफलमा लगाएको कोदो बालीमा क्षति पुगेको मन्त्रालयले प्रारम्भीक अनुमान गरेको छ । त्यसैगरी१२ करोड रुपैयाको संचित खाद्यान्नमा क्षति पुगेको छ । यसैबीच कृषि विकास र पशुपंक्षी विकास मन्त्रालयलले एक साता भित्र कृषिमा पुगेको क्षतिका लागि कृषकलाई राहत प्याकेजको व्यवस्था गर्ने बताएका छन् । मन्त्रालयले कृषि क्षेत्रमा अरबौ रुपैयाको क्षति पुगेको भएपनि आफुहरुसंग राहतका लागि छ्ट्याईएको रकम अत्यन्तै न्युन भएको भन्दै अर्थमन्त्रालयलाई तत्काल आवश्यक बजेटको व्यवस्था गर्न माग समेत गरेका छन् ।

मन्त्रालयले मध्यमाञ्चलका बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा, महोत्तरी, चितवन, रसुवा, रामेछाप र ललितपुर, पुर्वाञ्चलका झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा तथा सुदुर पश्चिमाञ्चलका बझांग, दार्चुला, बैतडी, कैलाली, डोटी, मध्यमाञ्चलका दाङ, बाँके , बर्दिया तथा पश्चिमाञ्चलका म्याग्दी, रुपन्देही, कास्की, बाग्लुङ, गुल्मी र नवलपरासीमा बाढीले अन्न बाली, तरकारी बाली, तेलहन तथा माछापालनमा पुर्याएको क्षतिको प्रारम्भीक अनुमान सार्वजनिक गरेको हो ।