महोत्तरी, १ भदौ । महोत्तरीको बर्दिवासस्थित सर्पदंश उपचार केन्द्रमा बिरामीको संख्यामा वृद्धि भएपछि बिरामीको उपचार गर्न श्ययाको अभाव भएको छ । सो उपचार केन्द्रमा दिनहुँ आठदेखि १० जनासम्मका सर्पदंशका बिरामी उपचारको लागि आउने भएपछि उपचार गराउनका लागि श्ययाको अभाव भएको हो ।
तीनवटा मात्र श्यया रहेको र बिरामीको संख्यामा वृद्धि भएपछि एक श्ययामा दुईजनासम्म बिरामीलाई राखेर उपचार गराउँदै आएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् । एक त उपचार केन्द्र एक सानो कोठामा सञ्चालन गर्नुपरेको, अर्कोतर्फ बिरामीको चापले ठाउँको अभावमा उपचार गर्न समस्या भएको चिकित्सकले जनाएका छन् । बिरामीलाई एउटै श्ययामा राखेर उपचार गराउँदा सरुवा रोगको प्रकोप उच्च रहेको स्थानीय राजकुमार गोलेको भनाइ रहेको छ । सर्पदंशका घाइते उपचार गराएर घर गएता पनि उनमा अर्को सरुवा रोगको खतरा भने यथावत नै रहने गोलेको भनाइ रहेको छ ।
सर्पले टोकेर घाइते भएका बिरामीलाई जसोतसो उपचार गरेता पनि गम्भीर प्रकृतिका बिरामीलाई भेन्टिलेटरको अभावमा बचाउन मुस्किल भएको सर्पदंश उपचार केन्द्रका अध्यक्ष कृष्ण देवकोटाले बताए ।

