कसैले काममा ढिलासुस्ती गरे तत्काल १०७ नंमा फोन गर्नु :अख्तियार

arjun Latest Update , MainNews/प्रमुख समाचार , Photo Gallery , ७ वर्ष अगाडि

काठमाण्डौ,१ भदौ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आयोगले सेवाग्राहीको बढी चाप हुने कार्यालयमा कसैले काममा ढिलासुस्ती गरी रकमको माग गरेमा तत्काल १०७ नंमा फोन गर्न आग्रह गरेको छ । पहिलो चरणमा काठमाडौँ उपत्यकाका मालपोत, यातायात, नापी र वैदेशिक रोजगार विभागको कार्यालयमा सूचना टाँस्ने आयोगका सचिव राजन खनालले पत्रकार सम्मेलनमा जानकारी दिए ।
आयोगले क्रमशः काठमाडौँ उपत्यका बाहिरका जिल्लामा पनि यस्तो अभियान चलाउने छ । धेरै सेवाग्राहीले आयोगको टोल फ्री नंबारे जानकारी नपाएर आयोगका अन्य नंमा फोन गर्ने गरेको अनुभवका आधारमा सो नंको प्रचारप्रसार गर्न लागिएको बताइएको छ ।
सचिव खनालले आयल निगमले जग्गा खरिदका क्रममा गरेको भनिएको अनियमितता र साझा प्रकाशनको भनिएको अनियमितताका सम्बन्धमा आयोगले प्रारम्भिक अनुसन्धान र प्रमाण जुटाउने काम शुरु गरिसकेको बताए ।
आयोगले गत आव २०७३÷७४ मा ९१ जनालाई पक्राउ गरेको छ । यसअघि आव २०७२÷७३ मा ४४ घटनामा मात्रै आयोगले कारबाही गरेको थियो । आयोगले सो क्रममा छ उपसचिव, १९ शाखा अधिकृत, ४० नासु, ११ ओभरसियर÷अमिन, आठ लेखापढी व्यवसायी, घुस दिने भनिएका दुई र कार्यालय सहयोगी दुई दुई तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष र सामाजिक परिचालक एक÷एक जना पक्राउ परेका छन् ।
आयोगले सो अवधिमा २२ जिल्लामा कारबाही गरेकामा काठमाडौँ जिल्लामा २१ मात्रै घटनामा कारबाही गरिएको छ । चालु आव २०७४÷७५ को साउनमा १९ घटनामा १७ जनालाई घुस रकम लिइरहेको अवस्थामा आयोगको टोलीले पक्राउ गरेको आयोगका प्रवक्ता जीवराज कोइरालाले जानकारी दिए ।