बाढी, पहिरो र डुवानबाट हाल सम्म १४३ जनाको मृत्यु ,३० जना अझै बेपत्ता

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडौ, ४ भदौ । गृह मन्त्रालयले अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानबाट हालसम्म १४३ जनाको मृत्यु भएको जनाएको छ । आज (आइतबार) साँझ प्रेस विज्ञप्ति जारी गरी गृह मन्त्रालयले बाढीबाट अझै ३० जना बेपत्ता र ४३ जना घाइते भएको जनाएको छ । त्यस्तै बाढी, पहिरो र डुबानबाट ७९ हजार ८१२ घरमा पूर्ण र एक लाख ४४ हजार ४४४ घरमा आंशिक क्षति पुगेको छ । बाढी, पहिरो तथा डुबानबाट प्रभावित जिल्लामा तीव्र गतिमा राहत वितरण भइरहेको मन्त्रालयले जनाएको छ ।

बाढी, पहिरो र डुबानबाट प्रभावित जिल्लामा हालसम्म ५३ हजार ४५५ थान त्रिपाल, दुई हजार ६४९ थान कम्बल, तीन हजार २३२ थान मेट्रेस, दुई हजार ६४५ थान झुल, सात हजार ३१५ सेट भाँडाकुँडा र एक लाख ४२ हजार ४९३ क्विन्टल चामल वितरण गरिएको छ ।बाढी, पहिरो र डुबानबाट मृत्यु भएका परिवार वा आफन्तलाई मन्त्रिपरिषद्बाट निर्णय भएबमोजिम प्रतिमृतक रु दुई लाख राहत वितरण भइरहेको मन्त्रालयले जनाएको छ । प्रकोपपीडित उद्धार तथा राहतसम्बन्धी मापदण्डबमोजिम घर पूर्ण वा आंशिक रुपमा क्षति भएका परिवारलाई मापदण्डबमोजिमको राहत वितरण भइरहेको छ ।

यसैबीच सरकारको स्वीकृत मापदण्ड तथा सरकारको निर्णयबमोजिम पीडितलाई राहत सामग्री खरिद गरी वितरण गर्न, मृतकका परिवारलाई आर्थिक सहायता तथा तोकिएबमोजिम राहत उपलब्ध गराउन मन्त्रालयले आज प्रभावित जिल्लाका जिल्ला दैवी प्रकोप उद्धार कोषमा रकम निकासासमेत गरेको छ । रासस