काम नगरेकाहरुको अनुमतिपत्र खारेज गर्न मन्त्री शाहीको निर्देशन

arjun Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाण्डौ,४ भदौ । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले विद्युत् अनुमतिपत्र लिएर काम नगरेकाहरुको अनुमतिपत्र खारेज गर्न विद्युत् विकास विभागलाई निर्देशन दिएका छन । आज ऊर्जा मन्त्रालयमा विभागका महानिर्देशक नवीन्द्रराज सिंहलगायत अधिकारीलाई अनुमतिपत्र लिने र काम नगर्नेलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन। “अनुमतिपत्र लिएका तथा विभागको सम्पर्कमा नरहेका जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउनु जरुरी छ । काम नगर्नेलाई राज्यको स्रोत र साधन सुम्पेर बस्नु जरुरी छैन”–मन्त्री शाहीले भने, “३५ दिनभित्र उनीहरुको अनुमतिपत्र खारेज गर्नुस् ।”
उनले विद्युत् उत्पादन गर्न चाहनेले अनुमतिपत्र नपाउने अवस्था रहेको भन्दै काम गर्ने योग्य प्रवद्र्धकलाई अगाडि बढाउन सरकारले विशेष अभियान सञ्चालन गर्नैपर्नेमा जोड दिए । आर्थिकरुपमा सम्भाव्य देखिएका करिब ४२ हजार मेगावाट बराबरको अनुमतिपत्र विभागले स्वदेशी तथा विदेशी कम्पनीलाई उपलब्ध गराएको छ । त्यसमध्ये केही सम्भाव्यता अध्ययनका क्रममा रहेको छ भने केही अन्य प्राविधिक अध्ययनका क्रममा छन् ।