काठमाडौँ, ५ भदौ । नेपाल विद्युत् प्राधिकरणको महशुल तिर्न लामो लाइनमा बस्नु भएको छ रु वा न्यूनतम महशुल तिर्नसमेत बढीभन्दा बढी खर्च गर्नुपरेको छ भने अब तपाईंले त्यस्तो झन्झट व्यहोर्नु पर्ने छैन । नेपाल विद्युत् प्राधिकरणले आजदेखि विभिन्न बैंक तथा वित्तीय संस्थामार्फत अनलाइन प्रणालीबाट सहजैरुपमा महशुल तिर्न सक्ने व्यवस्था गरेको छ ।
ऊर्जा मन्त्रालयमा आज आयोजित कार्यक्रममा ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले अनलाइन बिल भुक्तानी प्रणालीको शुभारम्भ गर्नुभयो । ग्राहकले मोबाइल बैंकिङ सेवामार्फत मोबाइलबाट पनि सहजैरुपमा घरमै बसेर महशुल तिर्न सक्नेछन् । यस्तै ग्राहकले प्रभु बैंक तथा इ सेवाका मोबाइल एप्प डाउनलोड गरेर पनि भुक्तानी गर्न सक्नेछन् ।त्यस्तै ग्राहकले आफ्नो महशुल तिर्न नजिकैको इ सेवा, प्रभु बैंक, महालक्ष्मी विकास बैंक, हिमाल रेमिट, सिटी एक्सप्रेस, पे प्वाइन्ट नेपाललगायतका संस्थाबाट बिना शुल्क महशुल तिर्न सक्ने व्यवस्था गरिएको छ ।
नेपाल विद्युत् प्राधिकरण र ती संस्थाका बीच महशुल भुक्तानीसम्बन्धी सहमतिपत्रमा समेत हस्ताक्षर भइसकेको छ । निकट भविश्यमा नै हिमालयन बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक र नेपाल क्लिरिङ हाउसबाट समेत महशुल तिर्न सक्ने व्यवस्था गरिनेछ ।
प्राधिकरणले आज सम्झौता गरेका संस्थाको मुलुकभर करिब १५ हजार आउटलेट सञ्चालनमा रहेका छन् । ऊर्जामन्त्री शाहीले आगामी डेढ महिनाभित्रै नेपाल टेलिकमको रिचार्ज कार्डबाट समेत महशुल तिर्न सक्ने प्रणालीको विकास गरिने जानकारी दिए । सो प्रणालीको प्राधिकरणले यसअघि नै परीक्षण गरिसकेको छ । रासस