प्रदेश र प्रतिनिधिसभाको निर्वाचनपछि संविधानको पूर्ण कार्यान्वयन : प्रधानमन्त्री

arjun News/समाचार , Politics/राजनीति , ७ वर्ष अगाडि

भीमदत्तनगर, १६ भदौ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनको चरणमा रहेको जनाउँदै प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचन सम्पन्न भएपछि संविधानको पूर्ण कार्यान्वयन हुने बताएका छन्  । आज बिहान कञ्चनपुरको भीमदत्तनगरमा नेपाल प्रेस युनियन, कञ्चनपुर शाखाले आयोजना गरेको पत्रकारसम्मेलनमा प्रधानमन्त्री देउवाले प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनबारे सबै राजनीतिक दलसित सल्लाह भइरहेको बताए ।  निर्वाचनहरु सम्पन्न भई मुलुक संविधान कार्यान्वयनको दिशामा अघि बढेसँगै संघीय गणतन्त्र संस्थागत हुने प्रधानमन्त्री देउवाले भनाइ थियो ।

आफ्नो भारत भ्रमण सफल रहेको बताउँदै उनले पञ्चेश्वर परियोजना अगाडि बढाउनाका साथै दोधाराचाँदनीमा सुख्खा बन्दरगाह, प्रदेश नं ७ मा प्राविधिक शिक्षालय स्थापना र महाकाली नदीमा दार्चुलाको जोलजिवी र डडेल्धुराको परशुराममा पक्की पुल र तटबन्ध निर्माण हुने बताए  ।
बिहीबार महाकाली नदीको चार लेनको पक्की पुल शिलान्यास गर्न कञ्चनपुर पुगेका  प्रधानमन्त्री देउवा आजै राजधानी फर्केका छन्  ।