पञ्चेश्वर परियोजनाको डिपिआर तयार गर्दा मुलुकलाई फाइदा हुने गरी मात्रै अघि बढ्न प्रधानमन्त्रको निर्देशन

arjun Business/अर्थ ब्यापार , Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडौं, १८ भदौ । प्रधानमन्त्री शेरबहादुर देउवाले पञ्चेश्वर बुहुउद्देश्यीय परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्दा मुलुकलाई फाइदा हुने गरी मात्रै अघि बढ्न निर्देशन दिएका छन ।
प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आज सरोकारवाला निकायका प्रतिनिधिलाई बोलाएर प्रधानमन्त्री देउवाले परियोजनाको उपभोगअनुसार लागत भार हुनेगरी डिपिआर तयार गर्न निर्देशन दिनुभएको उहाँका सञ्चारविज्ञ गोविन्द परियारले जानकारी दिए ।
‘पञ्चेश्वर परियोजना सुरु भएको २१ वर्ष भयो तर अझैसम्म कुनै उपलब्धि हुन सकेको छैन’ प्रधानमन्त्री देउवाले भने, ‘अब नेपाललाई फाइदा हुनेगरी यो परियोजनाको डिपिआरमा सहमति गर्नुस् ।’
प्रधानमन्त्री देउवाको अघिल्लो हप्ता भएको भारत भ्रमणका क्रममा एक महिनाभित्र पञ्चेश्वरको डिपिआर तयार गर्ने सहमति भएको थियो । सोही अनुसार मंगलबारदेखि भारतको नयाँदिल्लीमा दुई देशका विज्ञ समुहबीच त्यस विषयमा दुई दिने छलफल हुदैछ ।
उक्त परियोजनामा नेपालतर्फबाट कुल लागतको ३७ प्रतिशत र भारतले ६३ प्रतिशत लगानी गर्नुपर्ने नेपाल सरकारको अडान कायमै राख्न पनि प्रधानमन्त्री देउवाले निर्देशन दिएको सञ्चार विज्ञ परियारले जानकारी दिए ।
बैठकमा जल तथा ऊर्जा आयोगका सहसचिव माधव बेल्वासेले उक्त परियोजनाको विस्तृत विवरणका साथै नेपालको अडान र भारतको अडानका विषयमा ब्रिफिङ गरेका थिए ।
बैठकमा उपप्रधान एवं परराष्ट्र मन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, ऊर्जा मन्त्री महेन्द्रबहादुर शाही, सिँचाइ मन्त्री सन्जय गौतम, मुख्यसचिव, परराष्ट्र, उर्जा, सिचाई, र प्रधानमन्त्री कार्यालयका सचिव र पञ्चेश्वर प्राधिकरणका पदाधिकारी तथा विज्ञ समुहका सदस्यहरु सहभागी थिए । रासस