गौशाला, २० भदौ । असोज २ गते हुन गइरहेको स्थानीय तहको तेस्रो चरणको निर्वाचनमा महोत्तरी जिल्लाका २३२ मतदानस्थल संवेदनशील रहेका छन् । जिल्लाका कूल २५८ मतदानस्थलमध्ये २३२ वटा मतदानस्थल संवेदनशील रहेका जिल्लाका सुरक्षा निकायले बताएका छन् । त्यसमध्ये पनि १३५ वटा मतदानस्थल अति संवेदनशील र ९७ वटा मतदानस्थल संवेदनशील रहेका छन् । महोत्तरी जिल्लाका केवल २६ वटा मतदानस्थल सामान्य रहेका छन् । जिल्लाको करिब ७० प्रतिशत भूभाग पश्चिम र दक्षिणमा भारतीय सीमासँग जोडिएको र बढीभन्दा बढी मतदानस्थल सोही सीमानाकासँग जोडिएको हुनाले २३२ वटा मतदानस्थल संवेदनशील रहेका छन् । भारतीय सीमासँग महोत्तरीका विभिन्न १३ वटा स्थानबाट नेपाल–भारत आउजाउ हुने गरेको छ भने बनको बाटो करिब ४० किमीसम्म खुल्ला नै रहेकाले यस जिल्लाका अधिकांश मतदानस्थल संवेदनशील रहेका छन् । यसैबीच, आगामी असोज २ गते हुने स्थानीयतहको तेस्रो चरणका लागि महोत्तरीमा सुरक्षा व्यवस्था कडा बनाइएको छ । प्रहरी उपरीक्षक कुबेर कडायतले पत्रकारसँग कुराकानी गर्दै जिल्लाका हरेक मतदानस्थलमा सुरक्षाको भरपुर व्यवस्था गरेको बताए । यसअघिका मतदानमा म्यादी प्रहरीलाई खटाइए तापनि यसपटकको निर्वाचनमा नेपाल प्रहरीका दुई हजार ६०० प्रहरी जिल्लाभरिमा थप गरिएको कडायतले जानकारी दिए ।भारतीय सीमासँग जोडिएका ठाउँमा रहेका मतदानस्थलमा हुन सक्ने आपराधिक गतिविधि र उच्छृङ्खल कार्य रोक्न विशेष सुरक्षा योजना अवलम्बन गरिएको हो ।