भारतीय पक्षको अडानले पञ्चेश्वरको डिपिआरमा सहमति जुट्न सकेन

arjun Business/अर्थ ब्यापार , ७ वर्ष अगाडि

काठमाडौँ, २२ भदौ । भारतीय पक्षले तल्लो शारदा ब्यारेजमा उपलब्ध भइरहेको पानी आवश्यक उपभोगमा तलमाथि हुन नहुने भन्दै अग्राधिकारको विषय उठाएपछि पञ्चेश्वर जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)ले अन्तिम रुप प्राप्त गर्न सकेन ।

भारतको राजधानी नयाँ दिल्लीमा आज सम्पन्न दुई देशका सचिवस्तरीय प्राविधिक समितिको बैठक निष्कर्षविहीन हुन पुगेको बैठकमा सहभागी अधिकारीले जानकारी दिएका छन् । भारतले तल्लो शारदा ब्यारेजमा उपभोग गरिरहेको पानीको मात्राबाहेक उपलब्ध हुने पानी बाँडफाँट गर्नुपर्ने विषय राखेपछि नेपाली पक्ष सहमत हुन नसकेको हो । अग्राधिकार नै दिएर भारतलाई पानी उपयोग गर्न दिने विषयमा नेपाली पक्ष सहमत हुन नसकेपछि सचिवस्तरीय बैठक पुनःबस्ने गरी स्थगन भएको हो । यद्यपि दुवै पक्ष छलफललाई निरन्तर अगाडि बढाउन भने सहमत भएको बैठकमा सहभागी ऊर्जा मन्त्रालयका प्रवक्ता दिनेश घिमिरेले जानकारी दिए ।

बैठकको नेतृत्व नेपालका तर्फबाट जल तथा ऊर्जा आयोग सचिवालयका सचिव मधुसूदन अधिकारी र भारतको केन्द्रीय जल आयोगका अध्यक्ष नरेन्द्र कुमारले गरेका थिए। उक्त प्रतिनिधिमण्डलमा नेपालका तर्फबाट १६ र भारतका तर्फबाट ११ विज्ञ सम्मिलित थिए । संयुक्त बैठकमा सहभागी हुन नयाँ दिल्ली जानुअघि नेपाली टोलीले बैठकको तयारी र छलफलको कार्यसूचीबारे प्रधानमन्त्री शेरबहादुर देउवालाई जानकारी गराएको थियो ।

भारत भ्रमणका क्रममा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री देउवाले एक महिनाभित्र पञ्चेश्वरको डिपिआर तयार पार्ने र त्यसका लागि आवश्यक तयारी गरिने बताएका थिए। सचिवस्तरीय वार्ताबाट पञ्चेश्वरको प्रतिवेदनमा सहमति जुट्ने र परियोजना अगाडि बढ्ने अपेक्षा नेपालले लिएको थियो । रासस