काठमाडौँ, २५ भदौ । आगामी मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन १७ राजनीतिक दलले पहिलो दिन नै निर्वाचन आयोगमा निवेदन दिएका छन् ।
उक्त निर्वाचनमा भाग लिन चाहने राजनीतिक दललाई आजदेखि आगामी मंगलबारसम्म निवेदन पेश गर्न निर्वाचन आयोगले सूचना जारी गरेको थियो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन आगामी मंसिर १० र २१ गते दुई चरणमा एकैसाथ गर्ने सरकारले निर्णय गरिसकेको छ ।
समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन नेपाली काँग्रेस, नयाँ शक्ति पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक), राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेनिनवादी), नेपाल मजदुर किसान पार्टी, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाललगायत राजनीतिक दलले आजै निवेदन दिएको निर्वाचन आयोगले जनाएको छ ।