आचारसंहिता बिपरित मन्त्रिपरिषद् विस्तार गरिएको प्रति आयोगको असन्तुष्टि

arjun Latest Update , Politics/राजनीति , ७ वर्ष अगाडि

काठमाडौँ, २६ भदौ । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता लागू भइरहेको र सरकारलाई त्यसको पालना गर्न÷गराउन सातबुँदे निर्देशन दिइसकिएको अवस्थामा निर्देशन विपरीत मन्त्रिपरिषद्को विस्तार गरेको भनी असन्तोष व्यक्त गरेको छ ।
आयोगले आज प्रेस विज्ञप्ति जारी गरी मन्त्रिपरिषद् विस्तारले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनमा असर पर्न सक्ने जनाउँदै त्यस किसिमको कार्य नगर्न÷नगराउन सरकारसँग आग्रह गरेको छ ।

निर्वाचन आचारसंहिता लागू भइरहेको अवस्थामा तीन मन्त्री र एक राज्यमन्त्री नियुक्ति गरी आयोगको निर्देशन विपरीत मन्त्रिपरिषद् विस्तार भएको आयोगले जनाएको छ । आयोगका प्रवक्ता नवराज ढकालद्वारा जारी विज्ञप्तिमा भनिएको छ,“स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन सरकारले समेत सोही मनशाय राखी आफ्नो भूमिका निर्वाह गर्नुपर्ने भएकाले मन्त्रिपरिषद् विस्तार कार्यले स्वच्छ, स्वतन्त्र र निष्पक्ष निर्वाचनमा असर पर्ने सक्ने हुँदा यस किसिमको कार्य नगर्न÷नगराउन आयोग नेपाल सरकारलाई आग्रह गर्दछ ।”

प्रतिनिधिसभा तथा प्रदेश सभाको आगामी मङ्सिर १० र २१ गते हुने निर्वाचनको सिलसिलामा यही भदौ १४ गतेदेखि आयोगले निर्वाचन आचारसंहिता लागू गरिसकेको छ ।