देउवा सरकारको सय दिन पूरा, उपलब्धिमूलक रहेको दावी

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाण्डौ,२९ भदौ । मन्त्रीपरिषद जम्बो बनाएपछि आलोचना खेप्दै आएको शेरबहादुर देउवा नेतृत्वको सरकारले आफ्नो सय दिन उपलब्धिमूलक रहेको दावी गरेको छ ।सरकारको सय दिनको कार्यकालका प्रगति वितरण आज सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवम् सूचना तथा संचारमन्त्री मोहनबहादुर बस्नेतले सय दिन उपलब्धिमूलक रहेको दावी गरेका हुन । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयमा संचारकर्मीमाझ उनले सरकारले तोकेको प्राथमिकता अनुसारको कामलाई सवल रुपमा कार्यान्वयनमा लगिएको पनि बताए ।

मन्त्री बस्नेतले निर्वाचनमा सबै दललाई आउने वातावरण बनाई स्थानीय तह दोस्रो चरणको निर्वाचन निष्पक्ष ढंगले सम्पन्न गर्नु सरकारको मुख्य उपलब्धि भएको पनि उल्लेख गरे। सरकारले राजनीतिक दलहरुसँगको समन्वयलाई बलियो बनाएको, मुलुकमा सदाचार कायम गर्न सफल भएको दावी गरेको छ । आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनका लागि आवश्यक तयारीको कामलाई अघि बढाउनु सरकारले अर्को मुख्य उपलब्धिको रुपमा चित्रण गरेको छ । मन्त्री बस्नेतले प्रदेश र प्रतिनिधि सभा निर्वाचन क्षेत्र निर्धारण गरि निर्वाचनको तयारीको कामलाई अघि बढाउन सरकार सफल भएको पनि स्मरण गराए । त्यस अवसरमा मन्त्री बस्नेतले सरकार आगामी माघ ७ गते भित्र सबै तहको निर्वाचन सम्पन्न गराउन प्रतिवद्ध रहेको पनि स्पष्ट पारे ।

मन्त्री बस्नेतले सरकारले राष्ट्रिय आयोजनाको कामलाई अघि बढाउन पनि उच्च प्राथमिकता दिएको स्पष्ट पारे। उनले राष्ट्रिय आयोजनाको कामलाई समयमै सम्पन्न गर्न प्रधानमन्त्री देउवाले आवश्यक निर्देशन दिइसकेका र सोही अनुसारको काम अघि बढिरहेको दावी पनि गरे। सरकारले मुलुकमा भूकम्पपछिको पुनर्निर्माणको कामले गति लिएको दावी पनि गरेको छ ।

सरकारले छिमेकसँगको सम्बन्धलाई अझै सुदृढ र उन्नत बनाउन पनि सफल भएको दावी गरेको छ । मन्त्री बस्नेतले राष्ट्रपति विद्या भण्डारीको जेनेभा भ्रमण, प्रधानमन्त्री देउवाको भारत भ्रमण र परराष्ट्रमन्त्री कृष्णबहादुर महराको चीन भ्रमणबाट कूटनीतिक सम्बन्ध अझै सुदृढ बनाउन सरकारलाई ठूलो सफलता मिलेको पनि बताए ।
सरकारले जवाफदेहीको माध्यामबाट मुलुकमा सुशासन कायम गराउन प्रयत्नशील रहेको पनि दावी गरेको छ । उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भ्रष्टाचार नियन्त्रण गर्न सरकारले शुन्य सहनशीलताको नीति लिएको बताए ।