तेस्रो चरण निर्वाचनको सम्पूर्ण तयारी पूरा – निर्वाचन आयोग

arjun Latest Update , MainNews/प्रमुख समाचार , News/समाचार , ७ वर्ष अगाडि

काठमाडौँ, ३१ भदौ । निर्वाचन आयोगले तेस्रो चरणअन्तर्गत स्थानीय तहको निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।
आवश्यक सुरक्षासहित सबै कर्मचारी मतदान केन्द्रमा पुगिसकेको, मतदाता परिचयपत्र वितरण कार्य उत्साहका साथ भइरहेको, मतदातालाई सहीरुपमा मतसंकेत गर्न सिकाउने कार्य मतदान केन्द्रमा चलिरहेको तथा निर्वाचनको मौन अवधिसमेत शान्तिपूर्वक भइरहेको आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए।

तेस्रो चरणमा प्रदेश नं २ का सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा जिल्लामा सोमबार बिहान ७ बजेदेखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । उक्त निर्वाचनका लागि ती जिल्लामा तीन हजार ५७७ मतदान केन्द्र कायम गरिएको छ । प्रदेश नं २ का १३६ स्थानीय तहका विभिन्न पदमा हुने निर्वाचनका लागि २६ लाख ६४ हजार ९५० जनालाई मतदान गर्ने अधिकार छ ।

विगतका निर्वाचनमा राष्ट्रिय औशत बदर मतभन्दा प्रदेश नं २ का जिल्लामा धेरै मत बदर हुने गरेको तथ्यांकका आधारमा आयोगले यसपटकको निर्वाचनमा मतदाता शिक्षामा बढी जोड दिँदै आएको छ । त्यस प्रदेशका स्थानीय तहका विभिन्न पदका लागि ३७ हजारभन्दा बढी उम्मेदवारी परेको छ । बदर मतसंख्या घटाउन प्रत्येक मतदान केन्द्रमा खटिएका मतदाता शिक्षा कार्यकर्ता र कर्मचारीले मतदाता परिचयपत्र लिन आउने मतदातालाई सहीरुपमा मत संकेत गर्न सिकाइरहेको आयोगले जनाएको छ ।